काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजतन्त्र समर्थक नेताहरूको सुरक्षा फिर्ता लिएको भन्दै उठेको प्रश्नको स्पष्ट जवाफ दिएका छन्। उनले आन्दोलनमा आवश्यक सुरक्षाको व्यवस्था गर्नुपर्ने भएकाले अस्थायी रूपमा सुरक्षाकर्मीहरूलाई आन्दोलनस्थलमा खटाइएको जानकारी दिए।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भने, “व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई अहिलेको आन्दोलनको सन्दर्भमा अस्थायी रूपमा फिर्ता बोलाइएको हो। आन्दोलन सकिएपछि उनीहरू पुनः आफ्नै स्थानमा खटाइनेछन्।”

advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले राप्रपा नेताहरूको सुरक्षामा कटौती गरिएको विषयमा सरकारको धारणा माग गरेका थिए। सरकारका अनुसार, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहित केही नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी केही दिनअघि फिर्ता गरिएको थियो।

गृहमन्त्री लेखकले लोकतान्त्रिक गणतन्त्र, संघीयता र समावेशिताको रक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए। उनले संविधानको मूलभूत संरचना उल्ट्याउने वा गणतन्त्र हटाउने प्रयासले देशलाई पुनः अन्धकारतर्फ लैजाने चेतावनीसमेत दिए।

“गणतन्त्र, संघीयता, समावेशिता र लोकतन्त्रबाट पछि फर्किन खोज्ने प्रयासहरू देशको लागि घातक छन्। संविधानको मर्म नबुझी त्यसलाई फाल्ने सोच राख्नु दुर्भाग्यपूर्ण हो। सरकारको स्पष्ट धारणा छ — गणतन्त्र र संविधान न फाल्न मिल्छ, न त फालिन सक्छ,” गृहमन्त्री लेखकले बताए।

उनका अनुसार, हाल भइरहेको आन्दोलनमा सुरक्षा चुनौती बढेकोले तत्कालीन आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको हो। यदि यस्ता घटना भइरहेनन् भने व्यक्तिगत सुरक्षामा पुनः सुरक्षाकर्मीहरू खटाइनेछन्।

प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com