काठमाडौं । राजसंस्थाको पुनःस्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिले आफ्नो आन्दोलनलाई अब जिल्लास्तरमै केन्द्रित गर्ने निर्णय गरेको छ।
समितिमा आवद्ध ४५ वटा दल, समूह र अभियानहरूको बुधबार सम्पन्न संयुक्त बैठकले पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवका आधारमा भावी कार्यक्रमहरू परिमार्जन गर्ने निष्कर्ष निकालेको हो।
बैठकपछि समितिका संयोजक नवराज सुवेदीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “संयुक्त जनआन्दोलन समितिमा आबद्ध विभिन्न दल, समूह तथा अभियानहरूको बैठक सम्पन्न भएको छ। यस बैठकमा पछिल्लो एक हप्तादेखि सञ्चालनमा रहेका जनआन्दोलनको समग्र समीक्षा गरिनुका साथै आगामी चरणका आन्दोलनका कार्यक्रमहरूबारे गम्भीर छलफल भएको छ।”
विज्ञप्तिमा थप भनिएको छ कि आगामी आन्दोलनमा निजामती, सेना, प्रहरी सेवा लगायत राष्ट्रसेवामा योगदान दिएका पूर्वकर्मचारीहरू तथा आम जनताको सक्रिय सहभागिता सुनिश्चित गर्न विशेष अपिल गरिनेछ।
बैठकको निष्कर्ष अनुसार समितिले आगामी चरणका लागि ६ बुँदे कार्यक्रम तय गरेको छ। तीमध्ये काठमाडौं उपत्यकाका विभिन्न पालिकामा विरोध प्रदर्शनलाई निरन्तरता दिने, उपत्यका बाहिर देशका प्रमुख शहरहरूमा विरोधसभा, धर्ना र जनप्रदर्शन सञ्चालन गर्ने निर्णय गरिएको छ।
त्यस्तै, आन्दोलनलाई थप सशक्त, व्यवस्थित र परिणाममुखी बनाउन स्थानीय तहहरूमा नै संयुक्त जनआन्दोलन समितिहरू गठन गर्ने तयारी गरिएको छ। साथै, विभिन्न जिल्लामा जुझारु र प्रतिबद्ध युवा कार्यकर्ताहरूको सशक्त समूह निर्माण गर्ने र जिल्लास्तरीय आन्दोलन सम्पन्न गरेपछि पुनः काठमाडौं केन्द्रित आन्दोलन सञ्चालन गरिने समितिको योजना छ।
प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया