विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक गठबन्धनको नाममा महिलाको प्रतिनिधित्व घट्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन्। विराटनगरमा आजदेखि सुरु भएको उप–प्रमुखहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरूले महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन्।

भण्डारीले भनिन्, “गठबन्धनको समीकरणले महिलाको स्थान पछाडि धकेल्ने खतरा बढ्दो छ। यस्तो प्रवृत्तिमा सुधार आवश्यक छ।” उनले सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई सुशासन र समावेशी विकासतर्फ केन्द्रित हुन आग्रह गरिन्।

advertisement

कार्यक्रममा बोल्दै उनले महिला जनप्रतिनिधिहरूले स्थानीय तहमा भोग्दै आएका समस्याको विषयमा आफू जानकार रहेको बताइन्। “महिलाहरूको सहभागिताले शक्ति विकेन्द्रीकरणलाई व्यवहारमा उतारेको छ,” उनले भनिन्, “स्थानीय तहमा उनीहरूले निर्वाह गरिरहेको भूमिकाले सशक्तीकरणको नयाँ आयाम स्थापना गरेको छ।”

उनका अनुसार महिला जनप्रतिनिधिहरूको सफलतासँगै स्थानीय तह पनि सफल बन्नेछन्। संविधानले उप–प्रमुखहरूलाई पूर्णकालिक कार्यकारी अधिकार दिएको उल्लेख गर्दै उनले महिलाहरूले सो अधिकारको प्रभावकारी प्रयोग गर्नुपर्नेमा जोड दिइन्।

“देशमा सुशासन र उत्तरदायित्वको खोजी भइरहेको छ,” उनले भनिन्, “यस कार्यलाई सार्थक बनाउन महिला नेतृत्वको सक्रियता अपरिहार्य छ।” साथै, उनले अहिलेको संविधानले महिलाको केवल सहभागिता मात्र नभई नेतृत्व विकासमा पनि मार्ग प्रशस्त गरेको स्पष्ट पारिन्। समावेशी र उत्तरदायी शासन प्रणाली निर्माणमा महिला जनप्रतिनिधिहरूको भूमिका निर्णायक हुने विश्वास लिने समय आएको छ।

प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com