विराटनगर । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दामा सरकारको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वायत्त संवैधानिक निकाय भएकाले त्यसका कार्यमा सरकारले हस्तक्षेप गर्न नहुने बताए। “संविधानले अख्तियारलाई दिएको अधिकारअनुसार उसैले कारबाही अघि बढाएको हो,” उनले भने, “यसमा सरकारले प्रतिशोध साँध्यो भन्ने आरोप आधारहीन छ।”

advertisement

उनका अनुसार अख्तियारले भ्रष्टाचारसम्बन्धी फाइल खोल्ने वा कारबाही अघि बढाउने विषयमा स्वतन्त्र निर्णय लिने अधिकार राख्छ, र त्यस्तो निर्णयमा सरकारको कुनै भूमिका हुँदैन।

पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध दायर मुद्दामा सरकारले कुनै भूमिका नखेलेको दोहोर्‍याउँदै उनले यो विषयलाई राजनीतिक रंग दिनु अनुचित भएको बताए।

त्यसैगरी, प्रतिनिधिसभामा जारी अवरोध चाँडै हट्ने विश्वास व्यक्त गर्दै मन्त्री गुरुङले चालू अधिवेशनबाटै निजामती सेवा ऐन र शिक्षा ऐन जस्ता महत्वपूर्ण विधेयकहरू पारित हुने जानकारी दिए।

उनका अनुसार संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्न सबै दलबीच संवाद आवश्यक रहेको र सरकारले त्यसका लागि सकारात्मक भूमिका खेलिरहेको छ।

प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com