काठमाडौँ । प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले संसद् सञ्चालनका लागि सहमति नजिकिएको संकेत दिएका छन्। सत्ता पक्ष र विपक्षबीच संवाद सक्रिय बन्दै गएकाले आइतबारदेखि संसद् चल्ने सम्भावना रहेको उनले बताएका हुन्।
सभामुख घिमिरेले हालको संवेदनशील राजनीतिक अवस्थामा प्रतिगामी शक्तिहरू सक्रिय हुँदै गएको चेतावनी दिँदै सत्तापक्ष र प्रतिपक्ष एक भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। व्यवस्थाको विरोधमा उभिएका शक्तिहरूले संसद् अवरुद्ध भएकै कारण फाइदा उठाइरहेको भन्दै उनले संसदीय दलका नेताहरूले गम्भीरतापूर्वक विचार गर्नुपर्ने बताए।
संसदमा देखिएको गतिरोध अन्त्य गर्न सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच उच्चस्तरीय वार्ता हुने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसासम्बन्धी अनियमितता बाहिरिएपछि त्यसमा गृहमन्त्रीको जिम्मेवारी रहेको भन्दै विपक्षी दलले राजीनामा र छानबिनको माग गरेका छन्। विपक्षले मागबाट पछि नहट्ने अडान लिएपछि राजनीतिक संवाद उच्चस्तरमा पुगेको हो।
स्रोतका अनुसार प्रमुख नेताहरूबीचको छलफलले संसद् सञ्चालनका लागि ठोस मार्ग तय गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया