झापा । अर्जुनधारा नगरपालिका -११ स्थित नमूना सामुदायिक वनभित्रको पोखरीमा डुबेर आज बिहान दुई बालकको ज्यान गएको छ।
मृत्यु हुनेमा तेहथुमको जिरीखिम्ती स्थायी घर भई हाल अर्जुनधारा–११ निवासी पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले यो जानकारी दिएका हुन्।
प्रहरीका अनुसार आज बिहान करिब ८ बजे पौडी खेल्न गएका दुबै बालक सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेका थिए। डुबेको थाहा पाएपछि स्थानीयबासीले तत्काल उद्धार गरी विर्तामोडस्थित बिएन्डसी हस्पिटल पुर्याए पनि चिकित्सकहरूले बिहान ८ः३० बजेतिर दुवै जनालाई मृत घोषणा गरेका थिए।
यस दुःखद घटनाले स्थानीयवासीलाई स्तब्ध तुल्याएको छ। पोखरी आसपास सुरक्षाको व्यवस्थाबारे चिन्ता व्यक्त गर्दै स्थानीयहरूले भविष्यमा यस्ता दुर्घटना नदोहरिने गरी आवश्यक उपायहरू अपनाउन माग गरेका छन्।
प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार












प्रतिक्रिया