काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यालयहरूलाई शैक्षिक बेरोजगारी अन्त्य गर्न सीपसहितको गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका छन्।

श्री रत्नराज्य माध्यमिक विद्यालय, नयाँ बानेश्वरको ६४औं वार्षिकोत्सव तथा सम्मान, प्रमाणपत्र र पुरस्कार वितरण समारोहमा बोल्दै उनले शिक्षित बेरोजगारको संख्या दिनप्रतिदिन बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै भने, “अब शिक्षाले केवल प्रमाणपत्र मात्र होइन, व्यवहारिक सीप पनि दिनुपर्छ। विद्यार्थीलाई जीवनको लक्ष्यमा पुग्न सक्षम बनाउने शिक्षा आवश्यक छ।”

advertisement

सिंहले शिक्षण संस्थाले केवल शैक्षिक प्रमाणपत्र वितरण गरेर होइन, व्यावसायिक सीपयुक्त जनशक्ति उत्पादन गरेर समाजलाई योगदान दिनुपर्नेमा जोड दिए।

आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–१ अन्तर्गत पर्ने उक्त विद्यालयको भौतिक पूर्वाधार विकासमा आफू लगायत जनप्रतिनिधिहरूको सक्रिय भूमिका रहेको स्मरण गर्दै उनले विद्यालयले ६४ वर्षको इतिहासमा पुर्‍याएको योगदान सराहनीय रहेको बताए।

उपप्रधानमन्त्री सिंहले जनताले सक्षम प्रतिनिधि चुनेमा राम्रो परिणाम आउने उल्लेख गर्दै काठमाडौं–१ लाई उदाहरणीय क्षेत्रको रूपमा प्रस्तुत गरे। “२०६४ सालअघिको अवस्था र अहिलेको तुलना गर्दा यहाँ विकासमा उल्लेख्य प्रगति भएको छ,” उनले भने।

राजनीति सेवा र समर्पणका लागि हो भन्ने स्पष्ट पार्दै उनले भने, “झन्डा फर्फराउने र सस्तो लोकप्रियताका लागि होइन, देश र जनताको सेवा गर्न हामी राजनीतिमा छौं। जनप्रतिनिधिले आफ्नो क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी र अन्य पूर्वाधारको विकासमा अग्रसर हुनुपर्छ।”

उनले कमजोरी मात्र औंल्याएर नहुने भन्दै, गरिएका सकारात्मक कार्यको समेत मूल्यांकन गर्नुपर्ने धारणा राखे। “संघीय लोकतान्त्रिक गणतन्त्र कुनैको कृपाले प्राप्त भएको होइन,” सिंहले भने, “अब सबै नागरिक र सरकार मिलेर प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नुपर्छ।”

अन्त्यमा उनले वर्तमान सरकारले नागरिकको जीवन र जीविकालाई सहज बनाउन निरन्तर प्रयासरत रहेको उल्लेख गरे।

प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com