काठमाडौँ । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग अस्वीकार गरेपछि सत्तारुढ नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच भएको छलफल निष्कर्षविहीन भएको छ।

आज संसद् भवन, नयाँ बानेश्वरमा बसेको छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए। तर, छलफल कुनै ठोस सहमतिमा पुग्न सकेन।

advertisement

रास्वपाले जेठ १३ गतेदेखि प्रतिनिधिसभामा जारी अवरोध अन्त्य गर्नका लागि कम्तीमा भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै आएको छ। तर, कांग्रेसले सो माग अस्वीकार गरेपछि बैठक निष्कर्षविहीन बनेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

“कांग्रेसले छानबिन समिति बनाउन नमानेपछि सहमति हुने कुनै आधार रहेन,” परियारले भने, “उहाँहरूले हाम्रो मुख्य माग नै अस्वीकार गर्नुभयो, त्यसपछि वार्ताले निष्कर्ष पाउँदैन।”

संसद्मा भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै विपक्षी दलहरू निरन्तर अवरोध गरिरहेका छन्। यसै सन्दर्भमा कांग्रेसले विभिन्न दलहरूसँग संवाद अघि बढाउँदै आएको छ। रास्वपासँग यो दोस्रो चरणको छलफल हो।

छलफलपूर्व कांग्रेसले सत्ता साझेदार दल माओवादी केन्द्रसँग पनि परामर्श गरेको थियो। कांग्रेसले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको जनाउँदै संसदीय समिति गठनको आवश्यकता नरहेको तर्क अघि सारेको छ।

कांग्रेसले प्रस्ताव गरेको वैकल्पिक मार्ग अनुसार, अख्तियारको छानबिन पूरा भएपछि अध्यागमनसम्बन्धी समस्या समाधान तथा कानुनी सुधारका लागि सुझाव दिने समिति गठन गर्न सकिने बताइएको छ। तर, विपक्षी दलहरू उक्त प्रस्तावमा सहमत हुन तयार छैनन्।

आज दिउँसो दुई बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दलहरूबीच सहमति नजुटेपछि अहिलेसम्म सुरु हुन सकेको छैन। संसद् सञ्चालनमा गतिरोध कायमै छ।

प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com