एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा अवैध आप्रवासीविरुद्धको कारबाहीको विरोधमा भएको प्रदर्शन नियन्त्रण गर्न थप दुई हजार राष्ट्रिय गार्ड र सात सय मरीन खटाउने आदेश दिएका छन्। यससँगै सहरमा कुल चार हजार राष्ट्रिय गार्ड र सात सय मरीन तैनाथ भएका छन्।

पेन्टागनका प्रवक्ता शन पार्नेलले थप दुई हजार राष्ट्रिय गार्ड लस एन्जलस पठाइने बताए। ‘राष्ट्रपतिको आदेशमा रक्षा विभागले अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइसीई)लाई सहयोग गर्न र संघीय कानून प्रवर्तन अधिकारीहरूलाई सुरक्षित रूपमा काम गर्न मद्दत गर्न थप दुई हजार  क्यालिफोर्निया राष्ट्रिय गार्डलाई ड्युटीमा बोलाएको छ,’ उनले भने।

advertisement

यसअघि आइतबार ट्रम्पले प्रदर्शन रोक्न दुई हजार राष्ट्रिय गार्ड खटाएका थिए। सोमबार थप सात सय मरीन पनि परिचालित भएका छन्। क्यालिफोर्निया सरकारले यो कदमलाई ‘अनावश्यक’ र ‘उत्तेजक’ भन्दै ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ।

आइसीईको अवैध आप्रवासीविरुद्धको छापा कारबाहीको विरोधमा लस एन्जलसमा शुक्रबारदेखि लगातार चार दिनसम्म प्रदर्शन भएको छ। प्रदर्शनकारी र अधिकारीबीच झडप, आगजनी, र ट्राफिक अवरोधका घटना भएका छन्। क्यालिफोर्नियाका गभर्नर ग्याविन न्यूसोम र मेयर क्यारेन बासले यो तैनाथी अनावश्यक भएको बताएका छन्।

ट्रम्पको दोस्रो कार्यकालमा अवैध आप्रवासनविरुद्ध कडा नीति लागू भएको छ। उनले दक्षिणी सीमामा ‘राष्ट्रिय आपतकाल’ घोषणा गरी गैरकानुनी आप्रवासीहरूलाई ‘आपराधिक एलियन’ को संज्ञा दिँदै सामूहिक निर्वासन अभियान सुरु गरेका छन्। अनुमानित एक करोड दश लाख गैरकानुनी आप्रवासीमाथि कारबाही गर्ने उनको योजना छ।

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com