काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सामाखुसी करिडोरअन्तर्गत ढल निर्माणको ठेक्का प्रक्रियामा देखिएको अनियमिततासम्बन्धी उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक रहेका परियारसँगै भ्रष्टाचार मुद्दामा मुछिनेहरूमा ठेक्का बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाल छन्।
अख्तियारका अनुसार ठेक्का प्रक्रियामा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ ६३ पैसाको प्रस्ताव पेस गरेको थियो। सोही कामका लागि कल्पवृक्ष-कोहिनूर जेभीले भने २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ ९५ पैसाको बोलपत्र प्रस्तुत गरेको थियो।
तर, न्यून मूल्यमा ठेक्का कबोल गर्ने समानान्तर निर्माण सेवालाई छनोट नगरी महँगो प्रस्ताव पेस गर्ने कल्पवृक्ष-कोहिनूर जेभीलाई ठेक्का दिइएको भन्दै उजुरी परेको थियो।
अख्तियारले विस्तृत अध्ययनपछि बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। ठेक्का छनोटको प्रक्रियामा नियतवश गरिएका अनियमितताले राज्यलाई ठूलो आर्थिक हानि पुर्याइएको आयोगको दाबी छ।
प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया