काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच शान्ति सम्झौता सम्भव भएको दाबी गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मा लेख्दै, यी दुई देशबीच वार्ता गराएर समाधान निकाल्न सक्ने विश्वास व्यक्त गरेका हुन्।

“जसरी मैले भारत र पाकिस्तानबीच सम्झौता गराएँ, त्यसैगरी म इरान र इजरायललाई पनि सहमतिमा ल्याउन सक्छु,” ट्रम्पले लेखेका छन्। उनले भारत–पाकिस्तानबीचको तनाव समाधान गर्न ‘अमेरिकी व्यापारको शक्ति’ प्रयोग गरेको र दुई नेताबीच संवाद, सहमति र विवेक कायम गराएको उल्लेख गरेका छन्।

advertisement

उनका अनुसार त्यसरी नै तत्कालीन युद्धको जोखिम टर्‍यो। “उनीहरूले छिटो निर्णय गरे, र युद्ध रोकियो,” ट्रम्पको भनाइ छ।

भारत–पाकिस्तानबीच विगतमा उत्पन्न द्वन्द्वपश्चात पाकिस्तानले अमेरिकाको भूमिका स्वीकार्दै धन्यवाद दिइसकेको भए पनि भारतले यसबारे प्रत्यक्षरूपमा केही प्रतिक्रिया दिएको छैन।

यसक्रममा ट्रम्पले सर्बिया–कोसोभो र इजिप्ट–इथियोपियाबीचका विवादमा पनि आफूले निर्णायक भूमिका खेलेको दाबी गरेका छन्। उनले भने, “मेरो कार्यकालमा सर्बिया र कोसोभोबीच दशकौं पुरानो तनाव युद्धको स्थितिमा पुग्नै लागेको थियो, तर मैले त्यसलाई रोक्न सफल भएँ।”

इजिप्ट र इथियोपियाबीच नाइल नदीसम्बन्धी बाँधको विषयमा उत्पन्न विवादसमेत शान्तिपूर्ण समाधानतर्फ अग्रसर भएको ट्रम्पको भनाइ छ। “मेरो हस्तक्षेपपछि अहिले त्यहाँ पनि स्थायित्व छ,” उनले उल्लेख गरेका छन्।

ट्रम्पले अन्त्यमा लेखे, “त्यसैगरी इरान र इजरायलबीच पनि चाँडै शान्ति स्थापना हुनेछ। थुप्रै बैठकहरू भइरहेका छन्, फोन संवाद भइरहेका छन्। म धेरै गर्छु, तर मलाई श्रेय दिइँदैन। तर मलाई लाग्छ, जनताले त्यो बुझेका छन्।”

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com