इस्लामाबाद । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा फैलिएको पाकिस्तानले इजरायलमाथि आणविक आक्रमण गर्ने भन्दै प्रचार गरिएको खबरलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले उक्त समाचारलाई ‘नक्कली’ र ‘गैरजिम्मेवार’ ठहर गर्दै त्यसप्रति कडा आपत्ति जनाए।

दारले पाकिस्तानी संसदको माथिल्लो सदन सिनेटमा बोल्दै भने, “पाकिस्तानले यस्तो कुनै धम्की दिएको छैन। यो कपोकल्पित, आधारहीन र खतरनाक प्रचार हो।”
उनका अनुसार सामाजिक सञ्जालमा एक इरानी जनरलको नाममा पाकिस्तानले इरानमाथि आक्रमण भएमा इजरायललाई निशाना बनाउने दाबी गरिएको थियो, जुन पूर्ण रूपमा झूटा र मनगढन्ते हो।

advertisement

दारले आफ्नो सम्बोधनमा युद्धको संवेदनशीलतालाई स्मरण गराउँदै भने, “युद्ध कुनै बालबालिकाको खेल होइन। यस्तो अवस्थामा गलत सूचनाको फैलावटले क्षेत्रीय अशान्तिलाई अझ चर्काउन सक्छ। हामी संयमता अपनाउन सबैलाई आग्रह गर्छौं।”

उनले पाकिस्तानको आणविक र क्षेप्यास्त्र कार्यक्रम केवल आत्मरक्षाका लागि रहेको स्पष्ट पारे।
“हाम्रो नीतिगत धारणा सन् १९९८ मै प्रस्ट पारिएको हो– हाम्रा आणविक हतियार क्षेत्रीय स्थायित्व र सुरक्षाको लागि हुन्,” उनले भने, “हामीले अहिलेसम्म एनपिटी (परमाणु अप्रसार सन्धि) मा हस्ताक्षर नगरेको पनि त्यही कारणले हो।”

दारले हालसालै सामाजिक सञ्जालमा देखिएको एउटा एआई प्रविधिद्वारा निर्मित अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कथित भिडियो क्लिपको पनि खण्डन गरे।
उनले भने, “जुन १३ पछि यस्ता थुप्रै झूटा र तोडमोड गरेर बनाइएका कथाहरू फैलिएका छन्। नेतान्याहुको सन् २०११ को अन्तर्वार्तालाई पनि गलत ढंगले प्रस्तुत गरिएको छ। यस्ता कार्यहरूले युद्धलाई बढावा दिन सक्छन्।”

दारले पाकिस्तानले हालको इरान–इजरायल तनाव समाधानका लागि सक्रिय कूटनीतिक भूमिका खेलेको उल्लेख गरे।
“हामीले संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा भाग लिएका छौँ। ओमान र इरानका विदेशमन्त्रीहरूसँग नियमित सम्पर्कमा रहेका छौँ। इरानले हाम्रो प्रयासको प्रशंसा गरेको छ,” उनले जानकारी दिए।

उनका अनुसार इरानले इजरायलबाट थप आक्रमण नआए वार्ताका लागि तयार रहेको संकेत दिएको छ।
“पहिलो आक्रमणपछि म इरानका विदेशमन्त्रीसँग सम्पर्कमा थिएँ। उनले भने, इजरायलले दोहोर्‍याएर आक्रमण नगरे वार्ताका लागि उनीहरू तयार छन्। यो कुरालाई हामीले अन्य मुलुकहरूसँग पनि साझा गरेका छौँ,” दारले स्पष्ट पारे।

पाकिस्तानले युद्धका सन्दर्भमा संयमता अपनाउने नीति लिएको र हालका अफवाहहरूलाई खारेज गर्दै गलत सूचनाको विरुद्ध सचेत रहनुपर्ने आवश्यकता औंल्याएको छ।

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com