काठमाडौं । सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच सिंहदरबारमा महत्वपूर्ण भेटवार्ता भएको छ। दुबैबीच आज भएको उक्त छलफलमा संसदलाई सहज ढंगले सञ्चालन गर्ने विषयमा विशेष ध्यान केन्द्रित गरिएको सभामुखको सचिवालयले जनाएको छ।
भेटवार्तामा हालै सत्तारूढ नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको दुई बुँदे सहमति, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उठाएका मागहरू, तथा संसदमा देखिएको अवरोधबारे गम्भीर छलफल गरिएको थियो।
यही छलफलका कारण आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक तोकिएको समयमा सुरु हुन सकेन।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै रास्वपा केही दिनयता संसदमा नाराबाजीसहित विरोध प्रदर्शन गर्दै आएको छ। शुरुमा माओवादी केन्द्रले पनि लेखकको राजीनामा माग गर्दै विरोध जनाएको थियो। तर, पछि भिजिट भिसाका नाममा भइरहेको अनियमितता छानबिन गर्न एक महिनाभित्र संसदीय समिति गठन गर्ने सहमतिपछि माओवादी केन्द्र संसदको अवरोध फिर्ता लिन तयार भएको हो।
गृहमन्त्रीसँगको भेटपछि सभामुख घिमिरेले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग पनि छुट्टै छलफल गरेका छन्।
यसैबीच, रास्वपाको निरन्तर अवरोधका बाबजुद सभामुखले संसद बैठक सञ्चालन गरिरहेकामा कतिपय पक्षले आलोचना पनि गरेका छन्। तथापि, संसद सञ्चालनका लागि सबै पक्षसँग संवाद र सहमतिको प्रयास भइरहेको सभामुखको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: ३ असार २०८२, मंगलबार













प्रतिक्रिया