काठमाडौँ । भिजिट भिसाका नाममा नेपालीलाई विदेश पठाएर रकम असुली गर्ने घटनामा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको घेरामा परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा प्रमुख पदमा कार्यरत रहँदा भट्टराईले बिचौलियासँग मिलेमतो गरी कागजात नपुगेका नेपालीलाई गैरकानुनी रूपमा विदेश पठाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। भट्टराईले ‘सेटिङ’ मिलाएर भिजिट भिसामा व्यक्ति पठाउने प्रक्रिया सहज बनाएबापत गिरोहसँग मिलेर लाखौं रुपैयाँ असुलेको आयोगको निष्कर्ष छ।
भट्टराईबाट बरामद गरिएको व्यक्तिगत डायरी अहिले अनुसन्धानको केन्द्रबिन्दुमा छ। उक्त डायरीमा विदेश पठाइएका व्यक्तिहरूको नाम, रकमको हिसाबकिताब र को को मार्फत ती व्यक्ति आएका हुन् भन्ने विवरण उल्लेख गरिएको अख्तियार स्रोतले जनाएको छ। सो डायरीमा गृह मन्त्रालयका केही उच्चपदस्थ कर्मचारीहरूको नामसमेत उल्लेख गरिएको बताइएको छ।
“फलानाको मान्छे, आज यिनीहरू उडाउनुपर्ने” जस्ता वाक्यांश प्रयोग गरी डायरीमा संकेत गरिएको छ, जसमा विशेष कोड वर्डहरू प्रयोग गरिएको पाइएको छ। ती कोडहरूको अर्थ पत्ता लगाउन सहसचिव भट्टराई, बालकृष्ण पौडेल, खगेन्द्र सुवेदी र एक महिलासँग सोधपुछ भइरहेको छ।
जेठ ७ गतेदेखि सुरु भएको अनुसन्धान अन्तर्गत आयोगले तीर्थराज भट्टराईका दुई मोबाइल फोन बरामद गरेको छ। तर उनले पासवर्ड बताउन आनाकानी गरेका छन्। उनीद्वारा दिइएको पासवर्डले मोबाइल नखुलेपछि अनुसन्धान अधिकृतहरूले बारम्बार सोधपुछ गर्दा पनि उनले निष्कर्षमुखी उत्तर नदिएको बताइएको छ।
यसबाहेक, ‘द होलिडेज’ ट्राभलका सञ्चालक बालकृष्ण पौडेल, खगेन्द्र सुवेदी र तीर्थराज भट्टराई निकट सम्बन्धमा रहेको पुष्टि भएको छ। पौडेल एसकेआर म्यानपावरसँग पनि आवद्ध रहेका छन्।
अनुसन्धानको दायरामा रहेकी एक महिला व्यक्तिसँग भट्टराईको आर्थिक लेनदेनसमेत भेटिएको छ। ती महिलासँग आयोगले बयान लिइसकेको छ।
अख्तियारले युएई र कुवेततर्फ विशेष गरी महिला श्रमिकलाई भिजिट भिसामा पठाउनेक्रममा अध्यागमनका कर्मचारी र बिचौलियाले कोड वर्ड प्रयोग गरेर ठुलो रकम असुल्ने गरेको प्रमाण फेला परेको जनाएको छ।
हाल आयोग डायरीमा उल्लेख गरिएका संकेत र सूचनाहरूको यकिन प्रमाणसहित विश्लेषण गर्दै अनुसन्धानलाई निष्कर्षतर्फ लैजाने तयारीमा रहेको छ।
प्रकाशित मिति: ३ असार २०८२, मंगलबार













प्रतिक्रिया