काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफ्नो निलम्बनको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको आदेशमार्फत गरिएको निलम्बनविरुद्ध पाण्डे अदालत पुगेका हुन्। उक्त रिटमाथि उच्च अदालत पाटनमा बुधबार सुनुवाइ हुने भएको छ।
गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन गएका बेला पाण्डेको नेतृत्वमा रहेको नगर प्रहरी टोलीले कार्यालय प्रवेशमा अवरोध गरेको आरोप लागेपछि उनलाई निलम्बन गरिएको हो। घटनाबारे छानबिन गर्न महानगरले प्रमुख प्रशासन अधिकृत ध्रुव काफ्लेको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेको छ।
सोही दिन उपप्रमुख सुनीता डंगोल, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दा पनि कार्यकक्षको तालाबन्दी खोल्न पाण्डेले अवरोध गरेको भन्दै ७ बुँदे स्पष्टीकरण सोधिएको थियो। प्रारम्भिक रूपमा उनले दिएको स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै गुरागाईंले उनलाई निलम्बन गरेका थिए।
पाण्डेमाथि कर्मचारी आचरणविपरीत अनुशासनहीन गतिविधि गरेको आरोप पनि लागेको छ। महानगरका कर्मचारीले प्रशासकीय प्रमुखको निर्देशन पालन गर्नु पर्ने व्यवस्था भए पनि पाण्डेले त्यसको उल्लंघन गर्दै अवरोधपूर्ण कार्य गरेको भनिएको छ।
उक्त घटना काठमाडौँ भ्यू टावरको नक्सा पास सम्बन्धी विवादपछि बिदामा रहेका गुरागाईं पुनः कार्यस्थलमा फर्किन जाँदा उत्पन्न भएको थियो। उपप्रमुख डंगोलको नेतृत्वमा गुरागाईं कार्यालयमा जान खोज्दा नगर प्रहरी बलले अवरोध गरेको थियो। यसै घटनाक्रमलाई लिएर पाण्डेविरुद्ध अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाइएको हो।
प्रकाशित मिति: ३ असार २०८२, मंगलबार













प्रतिक्रिया