काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसदमा अवरोध गर्ने क्रममा अपमानजनक र अशोभनीय व्यवहार देखाएको आरोप लगाएका छन्।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले रास्वपाका सांसदहरूले निलो स्कार्फ बाँधेर संसद अवरुद्ध गर्नु केवल प्रदर्शनको शैली मात्र नभइ मर्यादाविपरीतको कार्य भएको टिप्पणी गरे।
उनले भने, “सांसदले संसदको लोगो लगाएर हिँड्दा गर्व महसुस गर्नुपर्ने हो तर अहिलेको शैलीले त्यसको अपमान भएको अनुभूति हुन्छ।”
मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरू निलो स्कार्फ लगाएर सहभागी भएका थिए। उनीहरूको यस्तो प्रस्तुतिमा नेपाली कांग्रेसले आपत्ति जनाएपछि संसद बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो।
तर, रास्वपाले आफ्ना माग सम्बोधन नभएसम्म निलो स्कार्फ नै लगाएर बैठकमा सहभागी हुने अडान कायमै राखेपछि बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो।
रास्वपाले गृहमन्त्रीको राजीनामा र भिजिट भिसा तथा मानव बेचबिखन प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ।
प्रकाशित मिति: ३ असार २०८२, मंगलबार













प्रतिक्रिया