काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हाल पार्टीको सार्वजनिक कार्यक्रमहरूमा जनसहभागिता न्यून हुँदै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले पहिले एमालेले आयोजना गरेका आन्दोलन वा कार्यक्रमहरूमा लाखौँ जनताको सहभागिता हुने गरे पनि अहिलेको अवस्था फरक भएको बताए।

advertisement

“एउटा समय थियो, पार्टीले आह्वान गर्‍यो भने हजारौँ, लाखौँ जनता सडकमा ओइरिन्थे,” उनले स्मरण गर्दै भने, “तर आजको अवस्थामा थोरै संख्यामा पनि जनता उतार्न कठिन भइरहेको छ। यो अवस्था किन आयो भन्नेबारे गम्भीर समीक्षा आवश्यक छ।”

उनले पार्टीभित्रै उत्साहको अभाव देखिएको उल्लेख गर्दै भने, “कार्यकर्ता र नेतृत्वमा उत्साहको कमी छ। संगठन अलिक शिथिल भएको जस्तो देखिन्छ। यो सबै पार्टीका लागि चिन्ताको विषय हो।”

तर पनि, पौडेलले एमालेसँग अझै पनि समस्या समाधान गर्ने सामर्थ्य रहेको दाबी गरे। “आज एमालेभित्र जुनसुकै समस्या छन्, ती हाम्रो नियन्त्रणबाहिर छैनन्। हामी सक्षम छौँ, ती समस्यालाई समाधान गर्न सक्ने स्थितिमा छौँ,” उनले जोड दिए।

कार्यक्रममा उनले संगठनलाई पुनः सक्रिय बनाउन र कार्यकर्तामा ऊर्जा भरिनुपर्ने आवश्यकता औंल्याए। “जनताको भरोसा फिर्ता ल्याउन सकिन्छ, त्यसका लागि नेतृत्व दृढ हुनु आवश्यक छ,” पौडेलको भनाइ थियो।

प्रकाशित मिति: ४ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com