काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट नमुना बन्दै गएको बताएका छन् ।
बुधबार मन्त्रालयमा आयोजित मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै मन्त्री गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रको आगमनपछि सबैभन्दा बढी समावेशिता सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा देखिएको उल्लेख गरे ।
उनले सार्वजनिक सेवा प्रसारण (पीएसबी) ऐनको कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति हासिल गरेको दाबी गर्दै नेपाल दक्षिण एसियामा सो ऐन कार्यान्वयन गर्ने अग्रणी देशमध्ये परेको बताए ।
“संघीय प्रणाली कार्यान्वयनमा आएपछि सबै क्षेत्र समावेशी बनाइएको छैन, तर सञ्चार तथा सूचना प्रविधि क्षेत्र भने साँच्चिकै समावेशिताको उत्कृष्ट नमुना बन्न पुगेको छ,” उनले भने ।
मन्त्री गुरुङले गोरखापत्र दैनिकले हाल ४५ भाषामा अतिरिक्त समाचार सामग्री प्रकाशित गर्दै आएको जानकारी दिए । उनले रेडियो नेपालले २५ वटा नेपाली भाषामा समाचार प्रसारण गरिरहेको र राष्ट्रिय समाचार समितिले (रासस) मैथिली र नेपाल भाषामा समाचार सामग्री समेटिसकेको उल्लेख गरे ।
“हामी छिट्टै तामाङ भाषामा पनि राससको समाचार सुरु गर्छौं,” उनले भने, “देशभर प्रयोगमा रहेका सबै भाषामा समाचार सामग्री तयार गर्ने हाम्रो लक्ष्य हो ।”
गुरुङले नेपाल दक्षिण एसियामा सार्वजनिक सेवा प्रसारण ऐन कार्यान्वयन गर्ने देशहरूमध्ये भारतपछिको अग्रणी राष्ट्र भएको दाबी गर्दै भने, “गोरखापत्रमा ४५ भाषामा समाचार छापिन्छ, यस्तो कार्य संसारकै कुनै पनि मुलुकमा दुर्लभ होला भन्ने लाग्छ ।”
उनले नेपाललाई भाषिक विविधता र समावेशी सञ्चारको उदाहरणीय मोडल बनाउँदै लैजान निरन्तर काम भइरहेको बताएका छन् ।
प्रकाशित मिति: ४ असार २०८२, बुधबार













प्रतिक्रिया