काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीर मुद्दामा तेस्रो पक्षको मध्यस्थता भारतले कहिल्यै स्वीकार नगर्ने बताएका छन्।
जी सेभेन समूहको बैठकमा भाग लिन क्यानडा पुगेका मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मंगलबार भएको टेलिफोन वार्तामा उक्त कुरा भनेको भारतका विदेश सचिव विक्रम मिश्रीले बताएका छन् ।
उनले ३५ मिनेट लामो उक्त टेलिफोन वार्तामा मोदीले भारतको लामो समयदेखि राख्दै आएको अडान ट्रम्पसँग ‘सशक्त’ रूपमा व्यक्त गरेको बताए ।
आणविक हतियार भएका दुई छिमेकीबिच मे महिनामा चार दिने द्वन्द्व भएयता अमेरिकी राष्ट्रपति ट्रम्पले ’कश्मीर मुद्दा’ समाधान गर्न भारत र पाकिस्तानबिच मध्यस्थता गर्ने प्रस्ताव पटक–पटक गरेका छन् ।
भारत र पाकिस्तानले अमेरिकाको मध्यस्थतामा युद्ध बिराम गरेको ट्रम्पले बारम्बार दाबी गर्दै आएका छन् । पाकिस्तानले युद्ध विराममा अमेरिकाको मध्यस्थताको दाबीलाई समर्थन गरेको छ, तर भारतले यसलाई अस्वीकार गरेको छ ।
‘सैन्य कारबाही बन्द गर्ने बारेको वार्ता भारत र पाकिस्तानबिच दुवै सेनाबिच स्थापित विद्यमान च्यानलहरूमार्फत थियो, अरु कसैको मध्यस्थतामा होइन,’ मिश्रीले भने।
अप्रिल २२ मा भारतीय–प्रशासित कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको लागि भारतले पाकिस्तानलाई दोष दिएपछि यी दुई देशबिच तनाव बढेको हो । उक्त आक्रमणमा २६ पर्यटकहरू, मारिएका थिए। उता, इस्लामाबादले यो आरोप अस्वीकार गर्दै आएको छ । बिबिसी
प्रकाशित मिति: ४ असार २०८२, बुधबार













प्रतिक्रिया