काठमाडाैं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले देश दिनप्रतिदिन युवाविहीन बन्दै गएको गम्भीर चिन्ता व्यक्त गरेका छन्। बिहीबार संसदको बैठकमा बोल्दै उनले शिक्षा, रोजगारी, दलालीलगायतका नाममा लाखौं युवा विदेशिनु परेको भन्दै सरकारको बजेट तथा नीतिप्रति प्रश्न उठाएका छन्।
“भोलि केही राम्रो होला भन्ने आशामा बाँचेका छौं,” उनले भने, “तर, देशबाट युवा पलायन भइरहेका छन्। बाहिर जानु परे पनि त्यहाँ सुख छैन, यहाँभन्दा बढी दुःख पाइन्छ। जब देशमै युवा छैनन् भने बजेट को लागी हो ?”
उनले गाउँ–शहर दुबै ठाउँमा युवाको उपस्थितिको अभाव देखिएको उल्लेख गरे। “सहरमा जानुहोस्, बाउआमा मात्रै हुनुहुन्छ। मृत्यु भए लास बोक्ने मान्छेसमेत छैन,” भण्डारीको भनाइ थियो।
डा. भण्डारीले राजनीतिक नेतृत्वमा रहेको कमजोर मनोबलप्रति पनि आलोचना गरे। “एउटा कर्मचारीले केही भन्यो भने देशको नेतृत्व थरथर काम्छ,” उनले कटाक्ष गरे, “कर्मचारीको धम्कीबाट डराएर सरकार चल्दैन।”
उनले नेताहरूको चिन्तन र दृष्टिकोणको अभाव औँल्याउँदै भने, “देश भाषणले बन्दैन। भाषणले न औषधि दिन्छ, न उज्यालो ल्याउँछ, न त विदेश गएका युवालाई फर्काउँछ।”
उनको निष्कर्ष स्पष्ट थियो— “देशका नेताहरूलाई न देश बुझेका छन्, न त जनताको पीडा।”
प्रकाशित मिति: ५ असार २०८२, बिहिबार













प्रतिक्रिया