काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणलाई जनयुद्धकालीन मुद्दासँग साटासाट गरिएको भन्ने अड्कललाई पूर्ण रूपमा खारेज गरेका छन्।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले भिजिट भिसा प्रकरणमा सरकारले लिएको निर्णयलाई सत्ता साझेदारी वा संक्रमणकालीन न्यायसँग जोडेर गरिएको टिप्पणी असान्दर्भिक र भ्रमपूर्ण भएको बताए।

advertisement

“सरकारसँग हाम्रो कुनै पनि विषयमा लेनदेन वा साटफेर भएको छैन,” पुनले स्पष्ट रूपमा भने, “भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रको सहमति सत्ता स्वार्थ वा जनयुद्धका मुद्दासँग सम्बन्धित छैन।”

उनले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले आफ्नो काम सुरु गरिसकेको जनाउँदै संक्रमणकालीन न्यायका विषयहरू सम्बन्धित आयोगमार्फतै अघि बढ्ने बताएका छन्।

“जनयुद्धकालीन मुद्दाहरूसँग भिजिट भिसाको सम्बन्ध जोड्नु पूर्णतः असान्दर्भिक हो,” नेता पुनको भनाइ छ।

उनले भिजिट भिसा प्रकरणमा सत्यतथ्य पत्ता लगाउनका लागि सरकारले छानबिन समिति तत्काल गठन गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।

“सरकारले कार्यादेश स्पष्ट गर्दै छानबिन समिति गठन गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका असन्तुष्ट पक्षहरूलाई पनि सहमतिमा ल्याउन सकिन्छ,” उनले भने, “त्यसैले रास्वपाले यो विषयलाई लिएर निरन्तर आन्दोलनमा उत्रिनु आवश्यक छैन। सबै पक्ष संयमित रहनुपर्छ।”

उपमहासचिव पुनले सरकारलाई छिटो निर्णय लिन आग्रह गर्दै राष्ट्रिय राजनीतिमा परिपक्वता र सहकार्य आवश्यक भएको संदेश दिएका छन्।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com