काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै तीव्र विरोध प्रदर्शन गरेको छ। पार्टीले गृहमन्त्री रमेश लेखकविरुद्धको भिजिट भिसा प्रकरणमा छानबिन हुनुपर्ने माग गर्दै निरन्तर संसद अवरोध गरिरहेको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसूची तय गरिएको थियो। तर बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदहरू उठी विरोधमा उत्रिए। रास्वपाका सांसदहरू कालो पोशाकमा निलो स्कार्फ बाँधेर उपस्थित भएका थिए, जसले उनीहरूको विरोधलाई नयाँ रूप दिएको देखिन्थ्यो।

advertisement

विरोधका कारण सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूची हटाउँदै बजेटमाथिको छलफल सुरु गराए। त्यसपछि रास्वपा र राप्रपाका सांसदहरू बैठक बहिष्कार गर्दै संसद भवनबाट बाहिरिए र आफ्नो धारणा सार्वजनिक गरे।

बाहिर पत्रकारहरूसँग कुरा गर्दै रास्वपाकी सांसद सोबिता गौतमले संसदले उनीहरूको आवाज सुन्न अस्वीकार गरेकाले बाध्य भएर विरोधमा उत्रिएको स्पष्ट पारिन्। ‘हामी प्रधानमन्त्रीलाई आफ्ना प्रश्नहरू राख्न चाहन्थ्यौं, उहाँकै लागि उठेका थियौं,’ उनले भनिन्, ‘प्रधानमन्त्री नै सरकारका मूल पात्र हुनुहुन्छ। उहाँलाई नसुने कसलाई सुन्ने?’

गौतमले संसदमा उठाइने आवाजहरू व्यक्तिगत नभई जनताका प्रतिनिधिहरूको सामूहिक आवाज भएको बताइन्। ‘संसदमा एक सांसदले उठाएको कुरा त्यो व्यक्तिको मात्र होइन, उनीमाथि विश्वास गरेर मत दिएको जनताको पनि कुरा हो। त्यसैले संसदले त्यसलाई सुन्ने वातावरण बनाउनु पर्छ,’ उनले जोड दिइन्।

सांसद गौतमले संसदमा बोल्ने समयसमेत नदिइएकोप्रति गुनासो पोखिन्। ‘हामीले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम चलाउन नदिनु भनेका होइनौं। तर हाम्रो पनि आवाज थियो, हाम्रो पनि प्रश्न थियो,’ उनले भनिन्, ‘प्रधानमन्त्री उपस्थित हुँदा उहाँलाई प्रत्यक्ष सुन्न आग्रह गरेका थियौं, तर हामीलाई समय नै दिइएन।’

लगातार संसदमा आवाज उठाउँदा पनि बेवास्ता गरिएको भन्दै गौतमले अब जनताकहाँ जानुको विकल्प नरहेको बताइन्। ‘हामीले बारम्बार हाम्रो कुरा राख्यौं, तर सदनले न सुनेपछि अब हामी जनता समक्ष जान्छौं,’ उनले चेतावनी दिइन्।

यता संसदको बैठक भने यथावत् रुपमा जारी छ। बैठकमा हाल आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहेको छ।

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com