काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद् प्रमुख प्रतिपक्षी दलसँग भएको सहमति अनुसार नै अघि बढ्ने स्पष्ट गरेका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले दल र व्यक्तिको आधारमा सरकारले छुट्टाछुट्टै सम्झौता गर्न नहुने भन्दै संसदीय अभ्यासअनुसार नै सबै प्रक्रिया अघि बढ्ने बताए। उनले माओवादी केन्द्रसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन अघि बढ्ने पनि जानकारी दिए।
‘सरकारले सहमति गरेपछि पनि रास्वपा अनावश्यक स्टन्ट गर्दैछ,’ उनले भने, ‘आज प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नियमावलीअनुसार तय भएको हो। त्यसलाई अर्को दिन सारौँ भन्ने कुरा मिल्दैन। सभामुखले नाराबाजीबीच प्रधानमन्त्रीलाई बोल्न दिने अवस्था देखेनन्, त्यसैले कार्यसूचीबाट हटाइएको हो।’
बर्तौलाले रास्वपाले अनावश्यक रूपमा प्रदर्शन गर्न नीलो रिबन र कालो पोशाक प्रयोग गरेको आरोप लगाए। उनले रास्वपा सांसदहरूको व्यवहारलाई ‘केटाकेटी जस्तो’ भन्दै आलोचना गरे र यस्ता गतिविधिले अन्ततः रास्वपाकै क्षति हुने दाबी गरे।
प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार













प्रतिक्रिया