काठमाडौं । नेदरल्यान्ड्सविरुद्धको खेलमा विस्फोटक ब्याटिङ प्रदर्शन गरेका नेपाली ब्याट्सम्यान आरिफ शेख गम्भीर रूपमा घाइते नभएको नेपाल क्रिकेट संघ (क्यान) ले स्पष्ट पारेको छ। उनी आज स्कटल्यान्डविरुद्ध हुने अन्तिम खेलका लागि उपलब्ध हुने क्यानले जनाएको छ।
हिजोको खेलमा आरिफले २३ बलमा ३९ रनको आक्रामक पारी खेलेर नेपाललाई जितको नजिक पुर्याएका थिए। तर, १९औं ओभरको अन्तिम बलपछि उनी मैदानबाट बाहिरिए। उपकप्तान दिपेन्द्रसिंह ऐरीसँग विकेटबीच दौडँदा शारीरिक असहजता भएपछि उनी खेल छोड्न बाध्य भएका थिए।
आरिफ बाहिरिएपछि अन्तिम ओभरमा जितका लागि आवश्यक ७ रन लोकश बमले दुई छक्कासहित पूरा गर्दै नेपाललाई जित दिलाएका थिए।
क्यानका प्रवक्ता छुम्बी लामाले आरिफलाई गम्भीर चोट नभई सामान्य क्र्याम्प भएको पुष्टि गरे।
‘उहाँलाई चोट लागेको होइन, सामान्य क्र्याम्प मात्र हो। खेल्न सक्ने अवस्थामा हुनुहुन्छ,’ लामाले जानकारी दिए।
प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार













प्रतिक्रिया