काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कबिन्द्र बुर्लाकोटीले रास्वपाको स्थापनाको मूल उद्देश्य नै देशको नीति र राजनीतिक संस्कारमा आमूल परिवर्तन गर्नु रहेको बताएका छन्।
पार्टीको स्थापना दिवसका अवसरमा माइतीघर मण्डलामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले पछिल्ला दिनमा भिजिट भिसा काण्डमार्फत करिब चार अर्ब रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गरे। यस्तो ठूलो घोटालामा संलग्न भए पनि चुप लाग्नेहरूलाई अनुसन्धानको दायरामा ल्याउन रास्वपाले सदनमा प्रस्ट आवाज उठाएको उनको भनाइ थियो।
“रास्वपा एउटा राष्ट्रव्यापी नीति परिवर्तनका लागि बनेको पार्टी हो,” उनले भने, “तर आज देशमा जुन किसिमको लुटतन्त्र मौलाइरहेको छ, त्यो अत्यन्तै चिन्ताजनक छ। पछिल्लो समय भिजिट भिसा काण्डमा मात्रै चार अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको तथ्य बाहिर आएको छ। यस्तोमा चुप बस्नेहरूको छानबिन गर्नुपर्छ भनेर हामी सदनमै कडा अडानमा उभिएका छौं।”
महामन्त्री बुर्लाकोटीले पार्टी स्थापनाको दिनलाई विशेष उद्देश्यसहित जनतालाई सडकमा ल्याउने प्रयास गरिएको बताए। “सडकदेखि सदनसम्म खबरदारी गर्न, ऐक्यबद्धता देखाउन हामीले सबैलाई आज सडकमा आउन आह्वान गरेका छौं,” उनले भने।
उनले अध्यक्ष रवि लामिछानेविरुद्ध झुटा मुद्दा लगाएर बदनाम गर्ने प्रयास भएको आरोपसमेत लगाए। “एउटा रवि लामिछानेले सिंगो लुटतन्त्रलाई सिध्याउने डरले पाँच पाँचवटा अदालतमार्फत षड्यन्त्र र सरकारको प्रत्यक्ष संलग्नतासहित झुटा मुद्दा लगाइयो,” उनले आरोप लगाए, “तर हामी डराउने छैनौं।”
उनले २०८४ सालपछि लुटतन्त्रको पूर्ण अन्त्य गरी सुसंस्कृत, उत्तरदायी र जनमुखी राजनीति स्थापनाको घोषणा गर्दै भने, “हामी ढुक्क छौं — २०८४ पछि लुटतन्त्रको जरा उखेल्नेछौं र नेपालको राजनीतिमा शुद्धताको नयाँ युग सुरु गर्नेछौं।”
प्रकाशित मिति: ७ असार २०८२, शनिबार













प्रतिक्रिया