काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्रिटिस गोर्खा सैनिकहरूलाई वंशजको आधारमा नेपाली नागरिकता दिनुपर्ने माग गरेका छन्।

शनिबार ललितपुरमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै भट्टराईले, रगतको नाताका आधारमा प्राप्त हुने नागरिकता कुनै पनि व्यक्तिबाट खोस्न नसकिने स्पष्ट पारे।

advertisement

उनले भने, “हामी आफ्ना नागरिकलाई विदेशी सेनामा भर्ती हुन पठाउँछौँ, तर त्यही नागरिकलाई वंशजको आधारमा नागरिकता दिन अस्वीकार गर्ने प्रवृत्ति ठीक होइन। यदि हिम्मत छ भने गोर्खा भर्ती नै बन्द गरौँ। तर, एकातिर पठाउने र अर्कोतिर अधिकार खोस्ने दुबै कुरा मिल्दैन।”

डा. भट्टराईले नेपालमा नागरिकता सम्बन्धी विषयप्रति गहिरो बुझाइको अभाव रहेको टिप्पणी गरे। “हामी विश्वको प्रवृत्ति बुझ्न चुक्छौँ। नागरिकता भनेको अत्यन्त संवेदनशील विषय हो। जबसम्म विश्वमा राष्ट्रिय राज्यको अवधारणा रहन्छ, तबसम्म नागरिकताको अधिकार अनिवार्य रहन्छ,” उनले भने।

उनले बहुराष्ट्रिय व्यक्तिहरूको उदाहरण दिँदै भने, “एलन मस्कसँग तीन देशको नागरिकता छ। बुबाको आधारमा दक्षिण अफ्रिकाको, आमाको आधारमा क्यानडाको र बसोबासको आधारमा अमेरिकाको नागरिकता प्राप्त गरेका छन्। त्यसैले वंशजको अधिकार विश्वव्यापी मान्यताको विषय हो।”

अध्यक्ष भट्टराईले नेपाली नागरिकलाई विदेशी सेनामा पठाएर उनीहरूको योगदानबाट देशले फाइदा उठाउने तर अन्ततः उनीहरूलाई नागरिकताको हकबाट वञ्चित गर्नु अन्यायपूर्ण रहेको बताए।

“सुगौली सन्धिको समयदेखि नै हामी आफ्ना नागरिकलाई गोरखा सैनिकका रूपमा पठाउँदै आएका छौँ। उनीहरूले पठाएको पैसाले नै हाम्रो अर्थतन्त्र चलायमान बनेको हो। यस्तो योगदानलाई सम्मान गर्नुको सट्टा, नागरिकताको हक खोस्नु लोकतन्त्रको मूल मर्मविपरीत हो,” उनले जोड दिए।

संविधानको व्याख्या गर्दै भट्टराईले भने, “संविधानले कसैलाई पनि नागरिकताबाट वञ्चित गर्न मिल्दैन भनी प्रस्ट उल्लेख गरेको छ। कुनै पनि नेपाली नागरिकले आफ्नो नागरिकता स्वेच्छाले त्याग नगरेसम्म उसको अधिकार कायम रहनुपर्छ। लोकतन्त्र भनेको सबै नागरिकलाई समान अधिकार दिने व्यवस्था हो। त्यसैले गोर्खा सैनिकहरूलाई पनि वंशजको आधारमा नागरिकता दिनु नै न्यायसंगत हुनेछ।”

प्रकाशित मिति: ७ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com