काठमाडौँ । नेकपा (एमाले)का सांसद सूर्य थापाले सहरी विकास मन्त्रालयले लौहपुरुष गणेशमान सिंहको नाममा गरिएको बजेट विनियोजनले उहाँको सम्मानमा आँच पुर्‍याएको भन्दै तत्काल सच्चाउन माग गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद थापाले लगभग ७५ करोड रुपैयाँको बजेट विनियोजन गणेशमान सिंहको नाम जोडिए पनि सम्मानभन्दा अपमान झल्किने गरी गरिएको आरोप लगाए ।

advertisement

“गणेशमान सिंहजस्ता लोकतन्त्रका आधारशिला व्यक्तित्वको नाममा बजेट छुट्याइएको भन्दै प्रचार त भयो, तर योजना हेर्दा उहाँको योगदानको कदर हुनेभन्दा उल्टो देखिन्छ,” थापाले भने । उनले पहिरो र अन्य प्राकृतिक विपत्तिबाट क्षति पुगेका स्थानीय तहका वडा कार्यालयहरू पुनर्निर्माणका लागि बजेट नछुट्याइएको भन्दै मन्त्रालयको प्राथमिकता चयनप्रति गम्भीर प्रश्न उठाए।

“राष्ट्रिय योजना आयोगले अधिकतम तीन करोड रुपैयाँका योजनाको सीमा तोकेको अवस्थामा सहरी विकास मन्त्रालयले त्यो भन्दा धेरै ठूला, तर असरहीन योजना अघि सारेको देखिन्छ,” उनले भने। “आज यो मन्त्रालय अस्तव्यस्त, अनियोजित र जनताको जीवनस्तर सुधार गर्नेतर्फ भन्दा पनि नाम जोडेर देखावटी काम गर्ने प्रवृत्तिमा लागेको देखिन्छ।”

थापाले बजेटमा रहेका साना, छरपस्ट र प्रभावहीन योजनाहरू फालेर जनमुखी र दीर्घकालीन प्रभाव पार्ने कार्यक्रममा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com