काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि योजनाको छनोटमा आवश्यकताको आधार नअपनाएको आरोप लगाएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तामाङले काठमाडौंमै बसेर काठमाडौं केन्द्रित योजनाहरू मात्र पारित गरेको भन्दै सिंहमाथि कडा आलोचना गरे। उनले भने, “देशभरिका जनता प्रतिनिधित्व गर्ने नेतृत्वमा पुग्नुभएका व्यक्तिबाट यस्तो संकीर्ण व्यवहार अपेक्षित थिएन।”
प्रकाशमान सिंह पार्टीका वरिष्ठ नेता भए पनि बजेट वितरणमा गम्भीर असमानता देखिएको भन्दै उनले यो विषय पार्टीको १५औं महाधिवेशनमा गम्भीर रूपमा उठाइने चेतावनी दिए। “तपाईं सुध्रिनुहोस् भनेर नै आज कुरा उठाएको हुँ। सबैले तपाईंलाई विश्वास गरेर ल्याएको हो, तर तपाईंले त्यो विश्वासको कदर गर्नुभएन,” उनले भने।
उनले पार्टी भित्रै बजेटको विषय उठाउने प्रयास गरे पनि पार्टीले बैठक नबोलाएकाले संसदमै धारणा राख्न बाध्य भएको बताए। “पार्टी सभापतिको दाबी राख्ने व्यक्तिबाट यस्तो विभेदपूर्ण कार्य हुँदा दुःख लागेको छ,” सांसद तामाङले भने।
त्यस्तै, उनले अर्थमन्त्री विष्णु पौडेलप्रति पनि आक्रोश व्यक्त गर्दै, पौडेलले आफू र शीर्ष नेताहरूको निर्वाचन क्षेत्रलाई मात्र प्राथमिकता दिएको आरोप लगाए। उनले सहरी विकासमन्त्री सिंह र अर्थमन्त्री पौडेलबीच योजना साटासाट गरेर वितरण गरिएको जस्तो देखिएको टिप्पणी गरे।
अन्त्यमा, सांसद तामाङले दुबै मन्त्री — प्रकाशमान सिंह र विष्णु पौडेल — आगामी २०८४ सालको निर्वाचनमा विजयी भएर फेरि संसद्मा नआउन् भन्ने चाहना व्यक्त गरे।
प्रकाशित मिति: ८ असार २०८२, आइतबार













प्रतिक्रिया