काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्रसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा आफूमाथि लागेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट खण्डन भइसकेको स्पष्ट पारेका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफूमाथि अनावश्यक रूपमा भ्रम फैलाउने र बदनाम गर्ने प्रयास भइरहेको गुनासो गरेका छन्। उनले लेखेका छन्, “पशुपतिको विषयमा अख्तियारको अनुसन्धानबाट म निर्दोष ठहर भइसकेको छु। तर, अझै पनि केही व्यक्तिहरू सामाजिक सञ्जालमा मेरो तस्वीर प्रयोग गरी मेरो चरित्र हत्या गर्न तल्लीन छन्। यस्ता व्यक्तिहरूप्रति मलाई दया लाग्छ।”
किरातीले पशुपति सम्बन्धी विषय सार्वजनिक चर्चा बनिरहेको अवस्थामा आफैँले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमक्ष छानबिनको माग गर्दै निवेदन दिएको समेत स्मरण गराए। उनले भने, “यो विषयमा सामान्य चर्चा सुरु भएलगत्तै मैले स्वयं मन्त्रीलाई निवेदन दिएर निष्पक्ष छानबिनको माग गरेको कुरा तपाईंहरूलाई थाहा छ? अनुसन्धानमा सहयोग गर्नु मेरो कर्तव्य हो भन्ने मैले बुझेको छु।”
उनले भ्रष्टाचार सम्बन्धी उजुरी कसैलाई पनि लाग्न सक्ने भन्दै, कानुनी प्रक्रियालाई सहजरूपमा लिनुपर्नेमा जोड दिए। “सिर्फ सुदन किराती मात्र होइन, उजुरी वडा अध्यक्षदेखि लिएर पूर्व प्रधानमन्त्रीसम्मलाई लाग्न सक्छ,” उनले भने, “यस्तो अवस्थामा सम्बन्धित निकायले आवश्यक जानकारी माग्नु र अनुसन्धान गर्नु सामान्य प्रक्रिया हो। यसमा अनावश्यक हल्ला गर्नु उचित होइन।”
भ्रष्टाचारलाई देशको शत्रुका रूपमा चित्रण गर्दै किरातीले आफू भ्रष्टाचारविरुद्ध सदैव दृढ रहेको प्रतिबद्धता पनि व्यक्त गरे।
उक्त भनाइहरूसँगै, आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ।
विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्तिमा हिनामिना र राज्यलाई आर्थिक नोक्सानी पुर्याएको आरोपमा उनीहरूमाथि १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो मागदाबी सहित आरोपपत्र दायर गरिएको हो।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार













प्रतिक्रिया