काठमाडौँ । प्रतिनिधि सभामा मंगलबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गर्ने तयारी भइरहेका बेला नेकपा (एमाले) ले आफ्ना सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित भई पक्षमा मतदान गर्न निर्देशन दिएको छ।
एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सोमबार ह्विप जारी गर्दै मंगलबारको बैठकमा सबै सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्ने र प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने बताएका छन्।
‘नेपाल सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक निर्णयार्थ असार १० गतेको बैठकको कार्यसूचीमा राखिएको हुँदा, नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूले बैठकमा अनिवार्य रूपमा उपस्थित भई विधेयकको पक्षमा मतदान गर्नुपर्नेछ,’ ह्विपमा उल्लेख गरिएको छ।
सरकारले प्रस्तुत गरेको बजेटमाथि विभिन्न चरणमा छलफल सकिएको छ र अब मतदानको प्रक्रियामार्फत पारित गर्ने तयारी छ। सत्तारूढ एमालेले पूर्ण बहुमत सुनिश्चित गर्न ह्विपमार्फत आफ्ना सांसदहरूलाई प्रतिबद्ध गराएको हो।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार













प्रतिक्रिया