काठमाडौं । पशुपति आर्यघाटमा भएको विद्युतीय शवदाह मेसिन खरिद काण्डमा नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले पूर्वमन्त्री सुदन किरातीलाई भ्रष्टाचारको मुख्य पात्र भएको आरोप लगाएका छन्। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किरातीलाई मुद्दाबाट उन्मुक्त दिँदा भ्रष्टाचारविरुद्धको लडाइँमै प्रश्न उठेको लेखेका छन्।
सांसद बस्नेतले प्रतिनिधि सभामा उठाएको प्रश्न अनुसार किरातीको संलग्नता न केवल प्रक्रियागत रूपमा थियो, उनले आर्थिक लाभ समेत उठाएको ठोस प्रमाण रहेको दाबी गरेका छन्।
सांसद बस्नेतले आफ्नो फेसबुक अकाउन्टमा लेख्छन्- “निर्णय गर्ने व्यक्ति सुदन किराती थिए। माइनुटमा हस्ताक्षर गरेर नियमविपरीत निर्णय गराए। तर आज उनीमाथि मुद्दा छैन। यो अख्तियारको निष्पक्षता माथि गम्भीर प्रश्न हो,”।
पशुपति क्षेत्र विकास कोषको अध्यक्षको रूपमा सुदन किरातीले सदस्य सचिव मिलन थापासँग मिलेर १० करोडभन्दा बढीको विद्युतीय शवदाह मेसिन खरिद प्रक्रिया अघि बढाएका थिए। नियमअनुसार निर्णय बहुमतबाट पास हुनुपर्नेमा उनीहरूले एकलौटी रुपमा निर्णय गरेका थिए।
सांसद बस्नेतका अनुसार, ठेकेदारको बयानमा पहिलो किस्ताबाट १ करोड ८९ लाख रुपैयाँ थापा र किरातीले आधा-आधा बाँडेका उल्लेख छन्। पुराना मेसिनहरू गायब भएको र ती सेकेण्ड ह्यान्ड बिक्री गरेर किरातीले आर्थिक लाभ उठाएको आरोप लगाएका छन् ।
सांसद बस्नेत लेख्छन्, “भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्नुको साटो, मुख्य पात्रलाई जोगाउनुको अर्थ के हो ? अख्तियार कस्को निर्देशनमा यस्तो पक्षपात गर्दैछ ?”
“साना कर्मचारीलाई मात्र दोषी देखाउने र निर्णय गर्ने मन्त्री जोगाउने हो भने भ्रष्टाचार कहिल्यै अन्त्य हुँदैन ।”

प्रकाशित मिति: ९ असार २०८२, सोमबार













प्रतिक्रिया