काठमाडौँ । अमेरिकी सेनाले ‘मिडनाइट ह्यामर’ नामक सैन्य अभियानमार्फत आइतबार इरानका प्रमुख आणविक केन्द्रहरूमा अचानक आक्रमण गरेको खुलेको छ। गहिरो रणनीतिक योजनाअनुसार गरिएको उक्त कारबाहीमा अमेरिकाले स्टेल्थ प्रविधियुक्त बी-२ बमवर्षक विमान प्रयोग गरेको थियो, जसले फर्दो, नतान्ज र इस्फहानस्थित केन्द्रहरूमा बंकरभेदी बम खसालेको पुष्टि भएको छ।
इरानको फर्दो आणविक केन्द्र, जुन सयौं फिट गहिरो पहाडमुनि रहेको छ, त्यहाँ ध्वंसात्मक क्षति पुर्याउनका लागि अमेरिकाले १४ टन तौलको ‘जिबियू-५७’ नामक शक्तिशाली बंकरभेदी बम प्रयोग गरेको थियो। यसै केन्द्रमा अमेरिकी बमवर्षकले १२ वटा यस्ता बम प्रहार गरेका थिए भने नतान्ज केन्द्रमा २ वटा बम खसालिएको जनाइएको छ।
योजनाअनुसार शनिबार अमेरिकी राज्य मिजोरीबाट केही बी-२ विमानहरू प्रशान्त महासागरतर्फ प्रकट रूपमा उडान भरिएका थिए, जसले इरानलाई झुक्याउने प्रयोजन पुरा गरे। ती विमानहरू घडी-घडी ट्रयाक गर्न सकिने र नसकिने स्थितिमा प्रशान्ततर्फ गएका थिए। तर वास्तवमा, आक्रमणको मूल समूह ७ वटा बी-२ विमानहरू पूर्वतर्फ इरानका लागि गोप्य रूपमा उडेका थिए।
उक्त समूहमा रहेका ६ विमानले फर्दोमा हमला गरे भने एकले नतान्जमा प्रहार गर्यो। यी विमानहरू १८ घण्टासम्म सतर्कतापूर्वक उडेर इरान पुगेका थिए। आक्रमणको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको संकेत दिइसकेका थिए, तर योजना सफल बनाउन उनले केही समय मौनता अपनाएको बताइएको छ। जनरलहरूको सुझाव अनुसार, इरानी पक्ष अलमलमा पार्न ट्रम्पले दुई हप्ताभित्र निर्णय लिने भनाइ सार्वजनिक रूपमा दिएका थिए।
अमेरिकाले इरानमाथिको यस आक्रमणमा बी-२ बमवर्षक, लडाकु विमान, हावामै इन्धन भर्ने विमानलगायत १२५ भन्दा बढी सैन्य विमान परिचालन गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। यसबाहेक, एक परमाणु पनडुब्बीले पनि इरानमाथि मिसाइल प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले पुष्टि गरेको छ।
हमलाअघि अमेरिकाले इस्राइललाई आग्रह गरेर फर्दो आसपास रहेका इरानी हवाई रक्षा प्रणालीहरूलाई निशाना बनाउने काम गराएको थियो। अमेरिका आफैंले पनि केही एअर डिफेन्स सिस्टमको स्थान इजरायललाई दिएको खुलाइएको छ। प्रारम्भिक चरणमा इरानी क्षेत्रमा अमेरिकी लडाकु विमानहरूले केही ठाँउमा बम प्रहार गरेपछि मात्र बी-२ बमवर्षकहरू मुख्य निशाना तर्फ अघि बढेका थिए।
यस गोप्य कारबाहीपछि इरानको आणविक क्षमतामा गम्भीर क्षति पुगेको अनुमान गरिँदैछ। आक्रमणको औपचारिक पुष्टि अमेरिकाले गरे पनि यसको रणनीतिक उद्देश्य र दीर्घकालीन असरबारे विस्तृत जानकारी दिन बाँकी छ।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार













प्रतिक्रिया