काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमन प्रणालीमा सुधार ल्याउन आवश्यक तत्कालीन कदमहरू चाल्न स्पष्ट निर्देशन दिएका छन्। सोमबार गृह मन्त्रालयमा बसेको आन्तरिक बैठकमा उनले अध्यागमन कार्यलयमा कर्मचारी खटाउँदा निर्धारित मापदण्ड र कार्यविधिको कडाइका साथ पालना गर्न आदेश दिए।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमार्फत अवाञ्छनीय गतिविधि भएको पुष्टि भएमा त्यहाँ कार्यरत कर्मचारीलाई कडा कारबाही गरिने मन्त्री लेखकले चेतावनी दिएका छन्।

advertisement

“गलत बाटोबाट कोही विदेश गएकाे प्रमाणित भएमा त्यसबेला कार्यरत कर्मचारी जिम्मेवार ठहर्नेछ,” प्रवक्ता तिवारीले मन्त्री लेखकको भनाइ उद्धृत गर्दै भने, “शून्य सहनशीलताको नीति अपनाउन मन्त्रीज्यूले निर्देशन दिनुभएको छ।”

मन्त्री लेखकले अध्यागमन सुधारका सन्दर्भमा यसअघि तयार पारिएका प्रतिवेदनका सिफारिसहरू कार्यान्वयन गर्नसमेत जोड दिए। उनले भने, “कर्मचारीको आचरणमा आमूल सुधार आवश्यक छ। अध्यागमनसम्बन्धी कागजात, तथ्याङ्क र अन्य सम्पूर्ण विवरणको अभिलेख सुरक्षित राख्न डिजिटल प्रणालीलाई स्तरोन्नति गर्नुपर्नेछ।”

बैठकमा गृहमन्त्रीले पछिल्लो एक महिनामा अध्यागमन सुधारका लागि गरिएको प्रयास र लिइएका पहलकदमीबारे समेत विस्तृत जानकारी लिएको प्रवक्ता तिवारीले जानकारी दिए। “अध्यागमनको समग्र छवि, संरचना र प्रणालीमा सुधार गर्नुपर्ने विषयमा पनि मन्त्रीज्यूले विशेष जोड दिनुभयो,” तिवारीले भने।

बैठकमा गृह सचिव गोकर्णमणि दुवाडी, मन्त्रालयका विभिन्न विभागीय प्रमुख, महाशाखा प्रमुखसहितका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

यहीबीच, अध्यागमन कार्यालयमार्फत भिजिट भिसाको दुरुपयोगसम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com