काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेट भोलि मंगलबार नआउने भएको छ ।
काठमाडौँ महानगरमा लामो समय देखि मेयर बालेन्द्र साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबिचको विवादका कारण कानुनी व्यवस्था अनुसार असार १० गते ल्याउनुपर्ने बजेट अनिश्चित बनेको हो ।
महानगर स्रोतका अनुसार मेयर बालेनले उपमेयर सुनिता डङ्गोल,प्रवक्ता नविन मानन्धर, वडा नम्बर १५ का वडाध्यक्ष इश्वरमान डङ्गोल र वडा नम्बर ३२ का वडाध्यक्ष नवराज पराजुलीलाई सबै पार्टीहरूसँग संयोजन गर्न जिम्मा दिएका थिए ।
तीन जनाले सबै दलका प्रतिनिधिहरूसँग सहमति गरी कार्यपालिका बैठक राख्ने मिति तय गर्ने भनिए पनि उनीहरूबिचमा नै सहमति नभएकाले कार्यपालिका बैठक समेत बस्न नसकेको स्रोतले जानकारी दियो ।
स्रोतले भन्यो,‘ कार्यपालिका बैठक अहिलेसम्म नबसेको तथा बजेट निर्धारण समिति बैठक र नीति तथा कार्यक्रम समेत नआएकाले भोली असार १० गते बजेट आउने अवस्था छैन ।’
महानगरका प्रवक्ता नविन मानन्धरले पनि महानगरको बजेट भोलि नआउने जानकारी दिए । उनले कार्यपालिका बैठक तथा नगर सभा बैठक समेत नभएकाले भोलि बजेट नआउने निश्चित भएको बताए ।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार













प्रतिक्रिया