काठमाडौँ । भिजिट भिसा प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अस्वीकार गर्ने घोषणा गरेको छ । पार्टीका प्रवक्ता डा. मनिष झाले आजको संसद बैठकमा रास्वपाको अडान यथावत् रहने स्पष्ट पारेका छन् ।
सरकारले गृहमन्त्रीमाथि उठेका आरोपका विषयमा छानबिन गर्न सोमबार मन्त्रिपरिषद् बैठकमार्फत पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा समिति गठन गरेको थियो । तर रास्वपाले उक्त समिति निष्पक्ष र विश्वसनीय नहुने भन्दै अस्वीकार गर्ने निर्णय लिएको हो ।
पार्टीले गृहमन्त्रीको राजीनामा र स्वतन्त्र छानबिनको माग गर्दै केही दिनदेखि संसदमा अवरोध जारी राखेको छ । वेल घेर्ने र बहिष्कार गर्ने जस्ता विरोधका कार्यक्रममार्फत रास्वपाले आफ्नो असन्तुष्टि प्रकट गर्दै आएको छ । प्रवक्ता झाले भने, “गृहमन्त्री स्वयंमाथि प्रश्न उठिरहेको बेलामा उहाँकै अगुवाइमा समिति बनाउनु नै अस्वाभाविक हो । यस्तो समिति केवल उनलाई उन्मुक्ति दिनका लागि रचिएको नाटक मात्र हो, हामीलाई स्वीकार्य छैन ।”
उनले समितिको संयोजक तोकिएका शंकरदास वैरागीमाथि पनि गम्भीर प्रश्न उठाएका छन् । “वैरागीजी कुनै निष्पक्ष छवि भएका व्यक्ति होइनन् । राजनीतिक पदको खोजीमा बसेका व्यक्तिले कसरी स्वतन्त्र छानबिन गर्छन् ?” भन्ने प्रश्न गर्दै उनले वैरागी संयोजक रहेको समिति विश्वास गर्न सक्ने अवस्था नरहेको बताए ।
प्रवक्ता झाका अनुसार सरकारले रास्वपासँग छलफल नगरी एकलौटी रूपमा समिति बनाएकोले पनि यो प्रक्रियाप्रति असहमति जनाउनु परेको हो । “छानबिन समिति बनाउने प्रक्रिया कुनै परामर्शबिनाको, एकपक्षीय र पूर्वाग्रही छ । यस्तो अवस्थामा त्यस समितिबाट सत्य उजागर हुनेमा हामी विश्वस्त हुन सक्दैनौँ,” उनले थपे ।
आज संसदमा बजेट पारित गर्ने कार्यसूची भएपनि रास्वपा त्यसमा सहभागी नहुने बताइएको छ । बैठकमा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न अहिले रास्वपाको संसदीय दलको अनौपचारिक बैठक बसिरहेको छ । वेल घेर्ने, बैठक बहिष्कार गर्ने वा नयाँ विरोधको स्वरूप अपनाउने भन्नेबारे छलफल चलिरहेको प्रवक्ता झाको भनाइ छ ।
प्रकाशित मिति: १० असार २०८२, मंगलबार













प्रतिक्रिया