काठमाडौं । इजरायलले इरानसँग द्विपक्षीय युद्धविराममा सहमति जनाएको पुष्टि गरेको छ। यो सहमति संयुक्त राज्य अमेरिकाको प्रस्तावमा भएको हो। तथापि, इजरायलले युद्धविरामको उल्लंघन भए कडा प्रतिक्रिया जनाउने चेतावनी दिएको छ।
प्रधानमन्त्री कार्यालय (पीएमओ) द्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद्, रक्षा मन्त्री, इजरायली रक्षा बल का प्रमुख र मोसाद प्रमुखसँग छलफल गरी ‘अपरेशन राइजिङ लायन’ अन्तर्गत निर्धारित सबै लक्ष्यहरू पूरा भइसकेको तथा अपेक्षाभन्दा बढी सफलता हासिल भएको’ बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘इजरायलले आणविक तथा ब्यालिस्टिक मिसाइलका दुई तत्कालीन अस्तित्वगत खतरा हटाएको छ। ले तेहरानको आकाशमा पूर्ण हवाई नियन्त्रण कायम गर्दै इरानको सैन्य नेतृत्वमा गम्भीर क्षति पुर्याएको र दर्जनौँ प्रमुख सरकारी लक्ष्यहरू ध्वस्त पारेको छ।’
विज्ञप्तिमा पहिलोपटक अर्का एक वरिष्ठ इरानी आणविक वैज्ञानिकको हत्या भएको समेत घोषणा गरिएको छ।
‘तेहरानको मुटुमा अवस्थित शासनका संरचनामा कडा आघात दिँदै, सयौं बासिज कमाण्डरहरूलाई निष्क्रिय बनाइएको र शासकीय दमन संयन्त्र तहसनहस पारिएको’ पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र संयुक्त राज्य अमेरिका प्रति कृतज्ञता प्रकट गर्दै, ‘इरानी आणविक खतरा हटाउने रक्षा सहकार्यमा अमेरिका सक्रिय सहभागी बनेको’ बताएको छ।
पीएमओका अनुसार, ‘अपरेशनका लक्ष्य प्राप्त भइसकेको’ तथा ‘राष्ट्रपति ट्रम्पसँगको पूर्ण समन्वयमा इजरायलले द्विपक्षीय युद्धविराममा सहमति जनाएको’ स्पष्ट गरिएको छ। साथै, ‘यदि युद्धविरामको उल्लंघन भयो भने इजरायलले कडा जवाफ दिनेछ’ भन्ने चेतावनी पनि दोहोरिएको छ।
यसअघि, अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धविराम कार्यान्वयनमा आएको घोषणा गरेका थिए। सोभन्दा अघि, इरानी ब्यालिस्टिक मिसाइलले इजरायलको बेर्शेबा शहरको आवासीय भवनमा प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको थियो।
प्रकाशित मिति: १० असार २०८२, मंगलबार













प्रतिक्रिया