काठमाडौं । संसदमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहमाथि बजेट विनियोजनको असमानता र आफ्ना पिताको नामको योजनाबारे प्रश्न उठेको छ।

बजेट छलफलमा सहभागी माओवादी सांसद अमनलाल मोदीले केही जिल्लामा मात्र गणेशमान सिंहको नाममा बजेट परेको भन्दै “स्वर्गमा उहाँ रिसाउनुहुन्छ कि?” भनेर तिखो प्रश्न गरे। सांसद गंगा कार्कीले पनि सिंहमाथि केवल केही जिल्लामा बजेट केन्द्रित गरेको आरोप लगाउँदै समान र समावेशी विकास कहाँ भयो भन्ने प्रश्न उठाइन्। उनले सिंहको पिताले प्रधानमन्त्री पद त्याग गरेर आदर्श देखाए पनि छोरा भने जनताको करको अपमान गरेको टिप्पणी गरे।

एमाले सांसद सूर्यबहादुर थापाले प्युठान जिल्लामा आफूले सिफारिस गरेका योजनाहरूको बेवास्ता भएको भन्दै असन्तुलित बजेटको आलोचना गरे। सिंहले जवाफमा बजेट सकेसम्म सन्तुलित बनाउन खोजिएको बताए। उनले प्यूठानमा ४० वटा योजनामा मन्त्रालयको कुल बजेटको ०.४० प्रतिशत विनियोजन गरिएको जानकारी दिए।

पूर्वराज्यमन्त्री कान्छाराम तामाङले रामेछापमा ६६ योजना र ८४ करोड बजेट परेको दाबी गर्दै सांसदहरूलाई ‘रातो किताब’ अध्ययन गर्न सुझाव दिए।

गणेशमान सिंहको नाममा बजेट राखिएको विषयमा सिंहले ती योजना पहिलेबाटै सञ्चालनमा रहेकाले यसलाई व्यक्तिगत ढंगले नलिन आग्रह गरे। उनले सबै कार्यक्रम मागअनुसार स्थानीय तहको सिफारिसमा गरिएको स्पष्ट पारे।

प्रकाशित मिति: १० असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com