काठमाडौं । निर्धारित समयमै बजेट प्रस्तुत गर्न नसकेको काठमाडौं महानगरपालिकामा बजेट तर्जुमा तथा कार्यक्रम समितिले मेयर बालेन्द्र शाह (बालेन)लाई समयमै प्रक्रिया अगाडि नबढाएको आरोप लगाएको छ।

महानगरका कार्यपालिका सदस्यहरू र नगरसभा सदस्यहरूले पटक–पटक औपचारिक तथा अनौपचारिकरूपमा पहल गरिएकामा मेयरले निरन्तर बेवास्ता गर्दै आएको समितिको गुनासो छ। समितिले आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणका लागि आवश्यक स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक समेत नबोलाइएकोप्रति गम्भीर असन्तुष्टि जनाउँदै समयमै बजेट नल्याउनुको जिम्मेवारी मेयरकै रहेको जनाएको छ।

advertisement

मंगलबार राति अनौपचारिक रूपमा बसेको बजेट तर्जुमा समितिको बैठकले बजेटप्रति मेयरको उदासीनता हटाउन आग्रह गर्ने निर्णय गरेको थियो। समितिले बुधबार औपचारिक पत्रमार्फत मेयर शाहलाई ध्यानाकर्षण गराएको छ।

समितिका सदस्य तथा महानगरका प्रवक्ता नवीन मानन्धरले भने, “बजेट निर्माण प्रक्रिया अघि बढाउन सबैभन्दा पहिला मेयरले नै पहल गर्नुपर्ने हो। उहाँले समन्वय गर्नुभएको भए हिजैसम्म बजेट तयार भइसक्थ्यो।”

अनौपचारिक बैठकमा आगामी आर्थिक वर्षको बजेट समयमै ल्याउन नसकिए महानगरको सेवा प्रवाहमा गम्भीर असर पर्ने चेतावनी पनि दिइएको छ। बजेट अभावका कारण विकास निर्माण, कर्मचारीको तलब, ज्येष्ठ नागरिकको भत्ता वितरण, फोहोरमैला व्यवस्थापनलगायतका कामहरू साउन १ गतेदेखि प्रभावित हुने खतरा देखिएको समितिका सदस्यहरूको भनाइ छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ अनुसार असार १० भित्र आगामी वर्षको बजेट कार्यपालिकाबाट स्वीकृत भई नगरसभामा पेश भइसक्नुपर्ने कानुनी व्यवस्था रहेकोमा यसपालि त्यो पालना हुन नसकेकोप्रति पनि बैठकमा चिन्ता व्यक्त गरिएको छ।

त्यस्तै ऐनको दफा ६६ अनुसार नगरप्रमुखको संयोजकत्वमा गठन हुने स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले वैशाख १० भित्र आफ्ना कार्य सम्पन्न गरी बजेट तर्जुमा प्रक्रियामा सहजीकरण गर्नुपर्ने कानुनी व्यवस्था भए पनि त्यो समेत पालना नभएको उल्लेख गर्दै समितिले त्यसको जिम्मेवारीबाट मेयर उम्कन नसक्ने बताएको छ।

बजेट तर्जुमा समितिको संयोजक उपमेयर सुनिता डंगोल हुन्। समितिमा प्रमुख प्रशासकीय अधिकृत सरोज गरागाईं, सूचना प्रविधि समितिका संयोजक नवीन मानन्धर, राजस्व समितिका संयोजक नवराज पराजुली, वित्त समितिका संयोजक ईश्वरमान डंगोल, सुशासन समितिका संयोजक ख्याम तिवारी, सामाजिक समितिका संयोजक रामकुमार केसी, वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, भवन व्यवस्थापन समितिका संयोजक हिरालाल तण्डुकार, शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जन, विधायन समितिका संयोजक मचाराजा महर्जन, कृषि तथा पशुपंक्षी तथा सहकारी व्यवस्थापन समितिका संयोजक रामजी भण्डारी, विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा तथा समितिका सदस्य सचिव सुमित्रा लामिछाने छन्।

समितिले अबको केही दिनभित्र पनि बजेट प्रक्रिया अघि नबढे कानुनी, प्रशासनिक र सेवा प्रवाहका गम्भीर संकट देखा पर्न सक्ने चेतावनी दिएको छ।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com