काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग लचिलो व्यवहार देखाए पनि महत्वपूर्ण विधेयकहरू पारित गर्ने विषयमा ढिलाइ हुनसक्ने चिन्ता व्यक्त गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरीसम्बन्धी विधेयकमाथि छलफल गर्दै उनले समितिबाट पारित भइसकेका विधेयकहरू सदनमा टुंग्याउने प्रक्रियामा अनावश्यक ढिलाइ भइरहेको बताए।
उनले संघीय निजामती सेवा ऐन, विद्यालय शिक्षा विधेयकजस्ता जनजीविकासँग प्रत्यक्ष जोडिएका विधेयकहरूलाई तत्काल पारित गर्नुपर्नेमा जोड दिँदै भने, “सरकारसँग केही लचिलो भएर समझदारी गर्दैछु, तर कताकता चिन्ता लागेको छ। यी विधेयकहरू फेरि अल्झिए भने समस्याको समाधान हुने देखिन्न। बारम्बार सरकारको ध्यानाकर्षण गराइरहेकै छु, अनावश्यक छेडछाड र ढिलाइ नगरियोस्।”
प्रचण्डले आफू सरकारसँग लचिलो हुनुको कारण पनि स्पष्ट पारे। “कतिपय मुद्दामा समझदारीको बाटो रोज्नुको उद्देश्य संवेदनशील र महत्वपूर्ण विधेयकहरू छिटो कानुनमा रूपान्तरण होस् भन्ने नै हो,” उनले प्रस्ट पारे।
उनले समितिबाट विधेयक पारित भएर सदनमा पुगेपछि पनि त्यसलाई कार्यसूचीमा नचढाउने, वा चढाएपछि हटाउनेजस्ता चलखेल भइरहेकोप्रति असन्तुष्टि जनाए।
“समितिमा घनिभूत छलफल हुन्छ, सदस्यहरू गम्भीर रूपमा अध्ययन गरेर विधेयक पारित गर्छन्। तर फुल हाउस पुग्दासम्म अनेकौं चलखेल हुन्छन्, प्रक्रिया अनावश्यक रूपमा लम्ब्याइन्छ,” प्रचण्डले भने, “हामीले मेहनत गरेर सदनमा पुर्याएका विधेयक कार्यसूचीमा परेपछि पनि हटाइएका दृश्यहरूले चिन्ता थपिएको छ।”
प्रहरीसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, प्रहरी महानिरीक्षक दीपक थापा लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: ११ असार २०८२, बुधबार













प्रतिक्रिया