काठमाडौँ । बागमती नगरपालिकाका मेयर भरतबहादुर थापाविरुद्धको अर्को भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा जारी छ। यसअघि ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका थापा हाल गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिसम्बन्धी मुद्दामा अदालतमा उपस्थित भइरहेका छन्।
न्यायाधीश टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ भइरहेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० साल चैत २७ गते थापाविरुद्ध ५ करोड ३३ लाख रुपैयाँ अवैध रूपमा आर्जन गरेको आरोपसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
थापाविरुद्ध हाल विशेष अदालतमा तीनवटा फरक भ्रष्टाचार मुद्दा विचाराधीन छन्। तीमध्ये एकमा उनले बागमती नगरपालिका–४ र १२ मा पर्ने सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवा र माटो उत्खनन गराएको आरोप छ। उत्खननपछि बनेको खाल्डोलाई माछापोखरी निर्माणको नाममा उपयोग गर्दै संघ र प्रदेश सरकारबाट ५६ करोड ७१ लाख रुपैयाँ अनियमित रूपमा खर्च गराइएको दाबी अख्तियारको छ।
यसअघि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले २०८१ साल असार ५ गते थापालाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
थापासम्बन्धी सबै मुद्दा अहिले विशेष अदालतको विचाराधीनमा छन्।
प्रकाशित मिति: १२ असार २०८२, बिहिबार













प्रतिक्रिया