काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमाथि चारवटा शक्तिबाट आक्रमण भइरहेको बताएका छन्।

टोखामा आयोजित काठमाडौं जिल्ला कमिटीको छैटौं बैठकमा बोल्दै उनले राजावादी, माओवादी वा कम्युनिस्ट नामधारी समाजवादी, पपुलिस्ट राजनीतिक समूह र विदेशी शक्तिहरूले एमालेमाथि सुनियोजित साइबर आक्रमण गरिरहेको आरोप लगाए।

advertisement

‘सामाजिक सञ्जालमार्फत यी शक्तिहरू एमालेलाई कमजोर पार्न सक्रिय छन्’, उनले भने, ‘एमाले कमजोर भएमा उनीहरूको स्वार्थ पूरा हुने भएकाले हामीमाथि आक्रमण भएको हो।’

राजावादीहरूले जेठ १५ देखि सुरु गरेको आन्दोलन एमालेकै कारण असफल भएको दाबी गर्दै उनले भने, ‘एमाले नभएको भए राजालाई श्रीपेच लगाइदिन कसैले रोक्ने थिएन।’

माओवादी र समाजवादीहरू पनि एमालेलाई कमजोर पार्न एकजुट भएको उनको आरोप छ। ‘एमाले कमजोर भएपछि मात्र आफ्नो आकार बढाउन सकिन्छ भन्ने बुझेर उनीहरू हमला गरिरहेका छन्,’ पोखरेलले भने।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौंका मेयर बालेन शाहलाई समेत आलोचना गर्दै पपुलिस्ट प्रवृत्तिका नाममा जनतालाई भ्रममा पारेर एमालेमाथि आक्रमण गरिरहेको बताए।

‘एमालेको सांस्कृतिक र सकारात्मक मूल्यका कारण अराजकतावादीहरूले निशाना बनाएका छन्,’ पोखरेलले भने।

उनले बाह्य शक्तिहरूले समेत एमाले कमजोर भएमा नेपाललाई कठपुतली बनाउने सपना देखिरहेको बताए। ‘गुमेको भूभाग समेटिएको नक्सा, नाकाबन्दीको प्रतिकार, राष्ट्रिय स्वाभिमानको रक्षा—यसबारे एमालेको अडानले उनीहरू असहज बनेका छन्,’ उनले दाबी गरे।

पोखरेलले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लक्षित हमलालाई सशक्त प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिए। ‘आज ओलीलाई लक्षित गरिन्छ, भोलि अरू पनि बाँकी रहने छैनन्,’ उनले भने।

कार्यकर्ताहरूले सामाजिक सञ्जालमा डर नमानी राजनीतिक कुरा राख्नुपर्ने उनले उल्लेख गरे। ‘गाली खानु परे पनि राजनीतिक अभिव्यक्तिबाट पछि हट्नु हुँदैन’, पोखरेलले स्पष्ट गरे।

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com