तेहरान । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले लामो समयपछि राष्ट्रलाई सम्बोधन गर्ने भएका छन्। अमेरिका र इजरायलबीचको युद्धविराम घोषणा भएपछि खामेनी पहिलोपटक सार्वजनिक रूपमा बोल्न लागेका हुन्।
राष्ट्रका नाममा सम्बोधन गर्दै खामेनीले इजरायलमाथि प्राप्त भएको विजयको शुभकामना इरानी जनतालाई दिएका छन्। उनले लेखेका छन्, “म इरानी जनतालाई झूटा यहूदी शासनमाथिको विजयको अवसरमा हार्दिक बधाई दिन्छु।”
खामेनीले अमेरिका इजरायलको पक्षमा प्रत्यक्ष युद्धमा संलग्न भइसकेको दाबीसमेत गरेका छन्। उनले भने, “यदि अमेरिका प्रत्यक्ष रूपमा युद्धमा नउत्रिएको भए इजरायल पूर्ण रूपमा नष्ट भइसक्थ्यो। तर अब पनि उसले केही हासिल गर्न सकेको छैन। इरान यस युद्धमा विजयी भएको छ र उसले अमेरिकाको अनुहारमा कडा थप्पड हानेको छ।”
उनले करिब ९ करोड जनसंख्या भएको देश एकताबद्ध भई सशस्त्र सेनाको समर्थनमा दृढतापूर्वक उभिएको बताएका छन्। “यो तेस्रो बधाई इरानी जनताको एकता र दृढताको लागि हो,” उनले भने।
खामेनीका अनुसार इरानी जनताले संकटको घडीमा आफ्नो अद्वितीय राष्ट्रिय चरित्र प्रदर्शन गरेका छन्। “आवश्यक पर्दा यो राष्ट्र एउटै स्वरमा बोल्न सक्ने सामर्थ्य राख्छ,” उनले थपे।
सर्वोच्च नेता खामेनी एक हप्ताभन्दा लामो समयदेखि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। उनले अन्तिमपटक जून १८ मा अज्ञात स्थानबाट टेलिभिजनमार्फत सम्बोधन गरेका थिए। अब भने उनी युद्धविरामपछिको परिस्थितिमा पहिलोपटक खुला रूपमा बोल्न लागेका छन्।
प्रकाशित मिति: १२ असार २०८२, बिहिबार













प्रतिक्रिया