काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकप्रति कडा शब्दमा असन्तुष्टि व्यक्त गरेकी छन्। उनले गृहमन्त्रीलाई चतुर तर गैरजिम्मेवार व्यवहार देखाएको आरोप लगाउँदै, जनताको पीडामाथि खेलवाड नगर्न चेतावनी दिएकी छन्।

प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सांसद कार्कीले भनिन्, “गृहमन्त्रीज्युलाई मैले सुरुमा सोझो मानें, तर अहिले बुझ्दा उहाँ त अत्यन्त चलाख र चतुर तरिकाले जोगिने रणनीति बनाउने रहेछन।”

advertisement

उनले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीबारे प्रश्न उठाउँदै सरकार, विशेषगरी गृह मन्त्रालय, पीडित जनतालाई संरक्षण गर्नुको सट्टा लुट्ने र तस्करीको दोष लुकाउने अभियानमा लागेको आरोप लगाइन्।

“मानव तस्करीको नाममा देशका निमुखा नेपालीहरू किन लुटिइरहेका छन्? यसको जवाफ गृहमन्त्रीसँग छ कि छैन?” उनले प्रश्न गरिन्। साथै उनले नेपाली काँग्रेसका संस्थापक नेताद्वय बीपी कोइरालालाई उद्धृत गर्दै भनिन्, “बीपीले भन्नुभएको थियो, जो कार्यकर्ता नेताको ज्यादती सहेर बस्छन्, तिनीहरू या त चरम अवसरवादी हुन्छन्, या त दास। तपाईंहरू कुन वर्गमा पर्नुहुन्छ?”

सांसद कार्कीले गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन गर्ने नाममा आफूलाई जोगाउने र संलग्न एजेन्टहरूलाई उन्मुक्ति दिने गरी समिति गठन गरेको आरोपसमेत लगाइन्।

उनको आरोप थियो, “छानबिनको नाममा न त सत्य उजागर हुन्छ, न दोषीलाई कारवाही। बरु, आफ्नै कमाइ र पद जोगाउने खेल चलिरहेको छ।”

सांसद कार्कीले यस्ता गम्भीर विषयमा गृहमन्त्रीको भूमिकामाथि गम्भीर प्रश्न उठाएकी छन् र सरकारले पीडित जनताको पक्षमा नउभिए जनआक्रोश थप चुलिने चेतावनीसमेत दिएकी छन्।

प्रकाशित मिति: १४ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com