काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्रको नेतृत्व संकट समाधानका लागि समयभन्दा अघि महाधिवेशन (अर्ली महाधिवेशन) गरेर अध्यक्ष परिवर्तनको प्रस्ताव अघि सारेकी छन्।
शनिबार लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यक्ष माधवकुमार नेपालप्रति अप्रत्यक्ष रूपमा प्रश्न उठाउँदै वर्तमान नेतृत्वले पार्टीलाई अगाडि बढाउन नसक्ने संकेत गरिन्। “पार्टीमा संकट छ, अध्यक्षको नेतृत्वप्रति नै प्रश्न उठेको छ। यस्तो बेला भागेर होइन, पुनर्गठन गरेर अघि बढ्नु पर्छ,” झाँक्रीले भनिन्।
उनले नेतृत्व परिवर्तन अपरिहार्य भएको तर्क गर्दै भनिन्, “कानुनी र संवैधानिक दृष्टिले अध्यक्षमाथि समस्या आएको छ। अब काँधमा मरेको सिनो राखेर हिँड्न सकिन्न, अर्ली महाधिवेशन आवश्यक छ।”
झाँक्रीले नेतृत्व चयन प्रक्रिया र संरचनाको आलोचना गर्दै केवल टीका लगाएर बनेको केन्द्रीय समिति प्रभावकारी बन्न नसक्ने र त्यसले पार्टीलाई अन्ततः विघटनतर्फ लैजान सक्ने चेतावनीसमेत दिइन्।
उनको यस्तो अभिव्यक्तिप्रति पार्टीभित्रैबाट आलोचना सुरु भएको छ। पोलिटब्युरो सदस्य सुदेश पराजुलीले सामाजिक सञ्जालमार्फत झाँक्रीको टिप्पणीलाई “विक्षिप्त मानसिकता” को अभिव्यक्ति भन्दै कडा आलोचना गरे। “लुम्बिनीमा देखिएको यो मानसिकता कुनै समय लुकेर, कुनै समय नक्कली स्टन्टबाजीका रूपमा देखिँदै आएको हो,” पराजुलीले लेखे।
पार्टी नेतृत्वमा असन्तुष्टि र आन्तरिक मतभेद झनै सतहमा आउन थालेको संकेत झाँक्रीको भनाइ र त्यसप्रतिको प्रतिक्रिया मार्फत देखिएको छ।
प्रकाशित मिति: १५ असार २०८२, आइतबार












प्रतिक्रिया