काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युरेनियम प्रशोधन गरेर परमाणु हतियार निर्माण प्रयास गरे पुनः बम आक्रमण गर्ने चेतावनी दिएका छन्।
शनिबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले इरानमाथिको प्रतिबन्ध हटाउने विषयमा भइरहेको छलफल स्थगित गरिएको जानकारी दिए। उनले भने, “इरानले यदि युरेनियम प्रशोधन गरेर परमाणु हतियार बनाउन खोज्यो भने अमेरिका निष्क्रिय रहने छैन। हामी निश्चित रूपमा आक्रमण गर्नेछौं।”
हालै इरानमाथि अमेरिकाले गोप्य रुपमा प्रतिबन्ध हटाउने प्रस्ताव पठाएको भन्ने समाचार सार्वजनिक भएको थियो। तर, ट्रम्पले इरान वार्ताका लागि तयार नभएकाले योजना रोकिएको स्पष्ट पारे।
राष्ट्रपति ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीमाथि पनि टिप्पणी गर्दै आफूले खामेनीको हत्या हुन नदिन रोक लगाएको दाबी गरे। उनले भने, “हामीसँग खामेनी कहाँ छन् भन्ने थाहा थियो। इसराइल र अमेरिकी सेना आक्रमण गर्न तयार थिए। तर मैले रोकें।”
यसबीच, इरानी विदेशमन्त्री अब्बास अराघ्चीले ट्रम्पका अभिव्यक्तिका कारण वार्ताको प्रक्रिया अघि नबढेको प्रतिक्रिया दिएका छन्। “सम्झौता गर्न चाहन्छन् भने, खामेनीप्रति अनादरजनक बोली फिर्ता लिनुपर्छ,” अराघ्चीले रोयटर्सलाई भने।
ट्रम्पले अन्तर्राष्ट्रिय आणविक उर्जा संस्था लाई इरानको परमाणु गतिविधिमाथि निगरानी राख्न आग्रहसमेत गरेका छन्।
प्रकाशित मिति: १५ असार २०८२, आइतबार













प्रतिक्रिया