काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमले नयाँ नेतृत्व पाएको छ । लामो समयदेखि टोलीको मुख्य स्ट्राइकरको भूमिका निभाएकी सावित्रा भण्डारी (साम्बा) टिमको ११औं कप्तानका रूपमा नियुक्त भएकी छन्। उनले एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमार्फत कप्तानीको सुरुवात गरेकी हुन्।

नेपालले सन् १९८६ मा महिला एसियन कपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको हो। त्यसयता १० जना खेलाडीहरूले राष्ट्रिय टोलीको कप्तानी गरिसकेका छन्। सावित्राले यसअघि कप्तानी सम्हाल्दै आएकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको स्थान लिएकी हुन्।

advertisement

तर कप्तानीको निर्णय एकाएक परिवर्तन हुनु भने टिम व्यवस्थापनमा समन्वयको अभाव देखिएको संकेत हो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुरुवातमा रेनुका नगरकोटीलाई कप्तान बनाइ लाओसविरुद्धको पहिलो रोजाइको टोली सार्वजनिक गरेको थियो। तर खेल सुरु हुनै लाग्दा सावित्रा कप्तानको आर्मब्याण्डसहित टनेलबाट मैदान प्रवेश गरेपछि सबै चकित बने। यसरी रेनुकालाई कप्तान बनाउने निर्णय क्षणमै उल्टिएको हो। उल्लेखनीय कुरा के हो भने, रेनुकाले यसअघि पनि टोलीको कप्तानी गरिसकेकी छन्।

युरोपेली फुटबल क्लबमा अनुबन्ध भएर व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली महिला खेलाडीको कीर्तिमान बनाइसकेकी सावित्राका लागि यो पहिलोपटक राष्ट्रिय टिमको कप्तानी हो। साथै, उनी नेपाली महिला टिमका लागि अहिलेसम्मकै सबैभन्दा धेरै ५८ गोल गर्ने रेकर्ड राख्ने खेलाडी हुन्।

महिला टिममा डच प्रशिक्षक प्याट्रिक डि वाइल्डको आगमनसँगै कप्तानी परिवर्तन हुने चर्चा चलिरहेको थियो। टोली घोषणा र बिदाइ समारोहमा समेत कप्तानको टुंगो नभएपछि उक्त सम्भावनाले अझ बल पाएको थियो।

गोलकिपर एन्जिला सुब्बाको पहिलो रोजाइमा नपर्नु र अनुभवको आधारमा अन्जना राना मगरले खेलको जिम्मा पाउनुका साथै सावित्रालाई कप्तान बनाइएको बुझिन्छ। त्यस्तै, मिडफिल्डर सरस्वती हमालले लाओसविरुद्धकै खेलमार्फत राष्ट्रिय सिनियर टिममा आफ्नो डेब्यु गरेकी छन्।

यसरी सावित्रा भण्डारीको कप्तानीले नयाँ युगको संकेत गरिरहँदा, नेतृत्व चयन प्रक्रियामा देखिएको असमञ्जस भने एन्फाले छिट्टै सुधार गर्नुपर्ने पक्ष हो।

प्रकाशित मिति: १५ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com