काठमाडौं । इरानको राजधानी तेहरानस्थित कुख्यात इभिन जेलमा भएको इजरायली हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको इरानी अधिकारीहरूले पुष्टि गरेका छन्। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार २३ जुनका दिन भएको हमलामा प्रशासनिक कर्मचारी, सैनिक सेवा गरिरहेका युवा, कैदीबन्दी, भेटघाटका लागि आएका परिवारजन र छिमेकी बासिन्दासमेतको ज्यान गएको हो।
न्यायपालिकाको आधिकारिक समाचार संस्था ‘मिजान’ मार्फत प्रवक्ता जहाँगीरले भने, “इभिन जेलमा भएको यो आक्रमण सम्पूर्ण मानवताको विरोध हो, जहाँ राजनीतिक कैदीहरूदेखि विदेशी नागरिकहरूसम्म थुनामा थिए।”
इरानी पक्षले इजरायलमाथि युद्धविरामको उल्लंघन गर्दै मानव अधिकारको गम्भीर हनन गरेको आरोप लगाएको छ। विश्लेषकहरूले यो आक्रमणलाई सिर्फ इरानको सैन्य र आणविक पूर्वाधार होइन, अब इजरायलले सामाजिक र राजनीतिक संरचनालाई पनि निशाना बनाउन थालेको संकेतका रूपमा व्याख्या गरेका छन्।
आक्रमणपछि बाँकी रहेका बन्दीहरूलाई तेहरानका विभिन्न जेलमा सारिएको छ। इभिन जेलमा विदेशी नागरिकहरू पनि थुनामा रहेका छन्, जसमा फ्रान्सकी सेसिल कोहलर र ज्याक पेरिस पनि छन्, जो अढाई वर्षदेखि बन्दी जीवन बिताइरहेका छन्।
फ्रान्सका विदेशमन्त्री जीन नोएल ब्यारोटले आक्रमणको कडा निन्दा गर्दै आफ्ना नागरिकहरू असुरक्षित रहेको बताइएका छन्। उनले यस्तो कार्यलाई “पूर्ण रूपमा अस्वीकार्य र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन” भएको भन्दै इजरायलको निन्दा गरेका छन्।
यस घटनापछि अन्तर्राष्ट्रिय समुदायले तीव्र प्रतिक्रिया जनाउँदै इजरायलको आक्रमणलाई निन्दनीय र भयानक कार्यको रूपमा व्याख्या गरेको छ। विभिन्न मानव अधिकार संगठनहरूले घटनाको स्वतन्त्र छानबिन गर्न आह्वान गरेका छन्।
प्रकाशित मिति: १६ असार २०८२, सोमबार













प्रतिक्रिया