काठमाडौं । महाराजगञ्ज तथा बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पत्तिमाथि महानगरले थप कारवाही गर्ने भएको छ। नगरप्रहरीले कारवाही गर्दा प्रतिवाद गरेको भन्दै चेतेन्द्र र सिता दम्पतीमाथि थप कारवाही गर्न लागिएको महानगरले जनाएको छ ।
मकै बेच्दै गर्दा शुक्रबार काठमाडौं महानगरको नगर प्रहरीले लछारपछार गर्दै ठेला लगेको भिडियोले सामाजिक सञ्जालमा अहिले चर्चा पाएको छ । ति दम्पतीले नगर प्रहरीले घुस मागेको बताएको भिडियो सार्वजनिक भएपछि महानगरले यसअघि सीता आचार्यले नगर प्रहरीमाथि गरेको व्यवहारलाई कारण देखाएर थप कारवाही गर्न लागेको हो ।
महानगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार ड्युटीमा रहेको नगर प्रहरीलाई अगुल्टो हानेको र हातापात गरेकोले थप कारवाहीको प्रक्रिया सुरु भएको बताएका छन्। घुस माग्न गएका नगर प्रहरीलाई बुधबार अगुल्टोले हानेको आचार्य दम्पत्तीले पनि स्वीकारेका छन् ।
‘सरकारी कर्मचारीलाई दोबाटोमा हातपात भएको छ, कारबाही नगरेर नमस्कार गर्नु त ?,’ नगर प्रहरी प्रमुख सापकोटाले प्रश्न गरे,’आवश्यक कारवाही हुन्छ । प्रक्रिया सुरु भइसकेको छ । कारबाही के हुन्छ भन्ने विषयमा भएपछि मात्रै भनौंला ।’
नगर प्रहरी प्रमुख सापकोटाले कारवाही के गर्ने भने नखुलाए पनि यत्तिकै छोड्न नमिल्ने तर्क गरे । जनपथ प्रहरीमार्फत उनीहरुमाथि अभद्र व्यवहारको मुद्दा चलाउने महानगर प्रहरीको संकेत छ । फुटपाथमा सामान बेच्नेहरुमाथि दैनिक कारबाही गरिरहेको भन्दै सपकोटाले निरन्तर भइरहने पनि बताएका छन् । ‘सँधै कारबाही हुन्छ, आज पनि हुन्छ, भोलि पनि हुन्छ । नयाँ कुरा होइन’ उनले भने,’हाम्रो नियमित काम हो, यो ठूलो कुरा होइन ।’ नगरप्रहरीको काम नै फुटपाथ, सडक व्यवस्थापन गर्ने भएकोले अन्य टिप्पणी गर्न आवश्यक नरहेको बताए ।
नगर प्रहरीका सब इन्स्पेक्टर (सई) राजन श्रेष्ठमाथि दम्पत्तिले ५ हजार घुस मागेको भनेर लगाएको आरोपबारे महानगरपालिका भने मौन छ । ‘अनुसन्धान गर्ने अधिकार प्राप्त अधिकारी आफैं छु । सोधपुछपछि स्पष्टीकरण लिएर अनुसन्धानपछि महानगरले आवश्यक परे मात्रै कारबाही गर्छ, मैले अनुसन्धान गरेर महानगरको नेतृत्वलाई बुझाउने हो, बाँकी उहाँहरुले गर्नुहुन्छ,’ सापकोटाले भने ।
काठमाडौं महानगरले फुटपाथमा सामाग्री बेच्न प्रतिबन्ध लगाएको भन्दै सडकपेटीको ठेला, फुटपाथका सामाग्री बेच्न नदिने, बेचेमा थप कारवाही गर्नपछि नपर्ने उनले बताए।
प्रकाशित मिति: १९ असार २०७९, आइतबार
प्रतिक्रिया