काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा सहमति बाहिरको शब्द थपिएपछि विवाद उत्पन्न भएको छ । उक्त विषयमा स्पष्टता ल्याउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुरालाई छलफलका लागि बोलाएका छन् ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार छलफलका लागि मंगलबार बिहान १०:३० बजे समय तय गरिएको छ ।

advertisement

समितिबाट सर्वसम्मत पारित प्रतिवेदनमा “सरकारी सेवाबाट राजीनामा वा अवकाश लिएको मितिले कम्तीमा दुई वर्ष नबितेसम्म कुनै पनि सरकारी पदमा पुन: नियुक्ति दिन नपाइने” भन्ने स्पष्ट व्यवस्था गरिएको थियो । तर, प्रतिनिधिसभामा पारित विधेयकमा ‘बाहेक’ भन्ने शब्द जोडिएपछि मूल मस्यौदामा हस्तक्षेप भएको भन्दै चासो व्यक्त गरिएको छ ।

नेपाली कांग्रेसकी सांसद तथा समितिकी सदस्य सरिता प्रसाईंले पनि विधेयक संसद्बाट पारित हुने क्रममा समितिले पारित गरेको भन्दा फरक शब्द प्रयोग भएको भन्दै सभामुखसँग भेट गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

विधेयकमा भएको संशोधनप्रति संसदभित्रकै केही नेताहरूले गम्भीर आपत्ति जनाएका छन् । उनीहरूका अनुसार समितिको निर्णय विपरीत विधेयक पास हुनु संसदीय प्रक्रियाको उल्लङ्घन हो ।

यस विषयमा थप छलफलपछि मात्र यथार्थबारे स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com