काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने लक्ष्यसहित वैदेशिक लगानीको आह्वान गरेकी छन्।
संयुक्त राष्ट्रसंघीय कृषि तथा खाद्य संगठनको रोममा जारी ४४औं महासभाअन्तर्गत आयोजित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै मन्त्री राणाले नेपालका मौलिक र विशिष्ट कृषि उत्पादनहरूलाई विश्व बजारमा पुर्याउनका लागि अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनीहरूलाई प्रत्यक्ष वैदेशिक लगानी गर्न आग्रह गरिन्।
उनले भनिन्, “कृषिमा निजी क्षेत्रको सहभागिता बढाउने सरकारको नीतिअनुरूप ठूला निजी कम्पनीहरूले केही हदसम्म लगानी गर्न थालेका छन्। तर पर्याप्त पूँजी र प्रविधिको अभावमा नेपालले अझै पनि आफ्नो कृषि सम्भावनालाई पूर्ण रुपमा उपयोग गर्न सकेको छैन।”
उनका अनुसार नेपाल सरकारले कृषि क्षेत्रमा प्रविधि, नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता (एआइ), ड्रोन आदिको प्रयोगलाई प्राथमिकता दिँदै आधुनिक र वैज्ञानिक कृषि प्रणालीतर्फ ध्यान केन्द्रित गरिरहेको छ।
मन्त्री राणाले नेपालको कृषि क्षेत्र अझै पनि पुरातन सोच र सामाजिक दृष्टिकोणको बन्दी रहेको बताउँदै भनिन्, “हाम्रो समाजमा आज पनि कृषकलाई तुच्छ दृष्टिले हेर्ने गरिन्छ। यस्तो सोच बदल्न जरुरी छ। कृषिलाई मर्यादित, सम्मानजनक र आकर्षक पेशाका रूपमा विकास नगरेसम्म निर्यातमुखी कृषि सम्भव छैन।”
पूर्व कृषि समिति सभापति समेत रहेकी राणाले आफ्नो अनुभव सुनाउँदै भनिन्, “मैले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति हुँदा धेरैले किन त्यो समिति रोज्यौ भनेर प्रश्न गरेका थिए। तर, मैले आफैंले त्यसलाई रोजेकी थिएँ, किनभने कृषि नै देशको मेरुदण्ड हो भन्ने मलाई लाग्छ।”
मन्त्री राणाका अनुसार नेपालको ८३ प्रतिशत भूभाग पहाडी र हिमाली क्षेत्रले ओगटेको छ, जहाँ जमिन स-साना टुक्रामा विभाजित भएकाले कृषि गर्न चुनौतीपूर्ण छ। तर पनि, यो क्षेत्र देशको आत्मनिर्भर अर्थतन्त्र र गरिबी निवारणसँग जोडिएको महत्वपूर्ण आधार हो।
उनले थप भनिन्, “हाल विप्रेषणले नेपालको कुल गार्हस्थ उत्पादनमा झन्डै ३५ प्रतिशत योगदान दिएको छ भने कृषिको योगदान करिब २३ प्रतिशत छ। तर कृषि अझै पनि ८० प्रतिशतभन्दा बढी जनसंख्याको रोजगारीको मुख्य स्रोत बनेको छ।”
उनले जलवायु परिवर्तनका कारण कृषि क्षेत्र गम्भीर संकटमा परेको उल्लेख गर्दै यसप्रति अन्तर्राष्ट्रिय समुदायको सहकार्य आवश्यक रहेको बताइन्।
अन्त्यमा, मन्त्री राणाले नेपालको कृषि क्षेत्रलाई प्रविधिमैत्री, लगानीमैत्री र निर्यातमुखी बनाउने सरकारको अठोटमा विश्व समुदायको सहयोग र सहकार्य अपरिहार्य भएको प्रस्ट पारिन्।
प्रकाशित मिति: १७ असार २०८२, मंगलबार













प्रतिक्रिया